राणाले गरिन् महासंघ अध्यक्षको पद बहाली, कोषाध्यक्षमा ज्ञानेन्द्रलाल



 

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको अध्यक्षमा भवानी राणाले बुधबार औपचारिक रुपमा पद सम्हालेकी छन् । महासंघका निवर्तमान अध्यक्ष पशुपति मुरारकाले राणालाई पद हस्तान्तरण गरे ।

बुधबार नै नवनिर्वाचित वरिष्ठ उपाध्यक्षसहित नयाँ कार्यसमितिले महासंघमा आयोजित विशेष कार्यक्रममा पद सम्हालेको छ ।

महासंघको इतिहासमा राणा पहिलोपटक महिला अध्यक्ष बनेकी हुन् । मंगलबार सम्पन्न महासंघको ५१औं साधारणसभाले नयाँ नेतृत्व चयन गरेको थियो ।

महासंघको संसोधित विधान अनुसार वरिष्ठ उपाध्यक्ष स्वत अध्यक्ष बन्ने प्रावधानअनुसार पहिलोपटक राणा अध्यक्ष भएकी हुन् । निर्वाचनमार्फत वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा समूहले दुई तिहाई सिटमा चुनाव जितेको थियो । राणा र गोल्छा एकै समूहका हुन् ।

यस्तै बुधबार बसेको महासंघको नवनिर्वाचिन कार्यकारीणी सदस्यको बैठकले कोषाध्यक्ष पदमा ज्ञानेन्द्रलाल प्रधानलाई चयन गरेको छ । महासंघमा यो पटकदेखि कोषाध्यक्षको पद सिर्जना गरिएको हो । जसको चयन प्रत्यक्ष निर्वाचनमार्फत नभई कार्यकारीणी सदस्यहरुले चुन्ने व्यवस्था छ ।

महासंघको नयाँ नेतृत्वमा एउटै खेमाको बहुमत भएकाले राणालाई काम गर्न सजिलो हुने देखिन्छ ।


पुष्प दुलाल