कृषि बुझ्ने जनप्रतिनिधीलाई भोट हाल्न, कृषि विज्ञको सुझाव




काठमाडौं । बैशाख ३१ गते हुने स्थानीय निर्वाचनमा किसानको मुद्दा उठाउने स्थानीय जनप्रतिनिधीलाई मात्रै भोट हाल्न कृषि बिज्ञले आग्रह गरेका छन् । राष्ट्रिय कृषक समूह महासंघ, राष्ट्रिय भूमिअधिकार मञ्च र खाद्यका लागि कृषि अभियान भन्ने संस्थाले संयुक्त रुपमा मंगलबार राजधानीमा आयोजना गरेको किसानको भोट कसलाई र किन भन्ने अन्तरक्रियामा यस्तो आग्रह गरिएको हो ।

राज्यबाट ठगिएका किसानहरु राजनीतिक दलका नेता कार्यकर्ताबाट समेत ठगिएको जानकारी दिदैं राष्ट्रिय कृषक समूह महासंघका अध्यक्ष उद्धव अधिकारीले स्थानीय निर्बाचनमा उम्मेदबार बन्ने जनप्रतिनिधीको घोषणा पत्रमा कृषि, खाद्य सुरक्षा, साना किसान र भूमिसम्बन्धी मुद्दा हेरेर मात्रै मतदान गर्न आग्रह गरे ।
‘समग्र किसानको समस्यालाई सम्बोधन नगर्ने स्थानीय जनप्रतिनिधीलाई मतदान नगरौं’, अधिकारीले भने,‘कृषि बुझेको, साना किसान र भूमिको समस्या र खाद्य सम्प्रभुताको बारेमा जानकार भएका र घोषणा पत्रमा उल्लेख गरेका उम्मेदबारलाई मात्रै मतदात दिएर जिताउनुस्, किसान बुझेका उम्मेदबार जितेको खण्डमा मात्रै किसानको समस्या समाधान हुन्छ,’ अधिकारीले भने ।

राष्ट्रिय भूमिअधिकार मञ्चका अध्यक्ष सोम भण्डारीले झण्डै १९ बर्षपछि हुन लागेको स्थानीय निर्बाचन विग्रेको नेपालको कृषि क्षेत्रलाई सहीबाटोमा डोरयाउन सक्ने जनप्रतिनिधीलाई मतदान गर्नुपर्ने आवश्यकता औल्याए । जल, जंगल, जमिन र कृषिमा माफियातन्त्र बढ्दै गएको जानकारी गराउदै उनले स्थानीय निर्बाचनमा कृषि बुझेका र गरेका उम्मेदबारलाई जिताउनुपर्ने धारणा राखे । उनले भुमिहिन, मोही र साना किसानका लागि उम्मेदबारले कस्तो नीति ल्याउने, विदेशिएका युवालाई खेतीपातीमा ल्याउन कस्तो योजना छ, भरपेट, सन्तुलित र विषादीरहित खानेकुराका लागि कस्तो योजना छ र गाउँ वा नगरपालिकामा खेतीपाती सुधार्न कस्तो व्यवस्था गर्नुहुन्छ भनेर उम्मेदबारसँग साक्षात्कार गर्नसमेत मतदाताहरुलाई आग्रह गरेका छन् ।

खाद्यका लागि कृषि अभियानका अध्यक्ष डा. कृष्ण पौडेलले यसपटकको स्थानीय निर्बाचनमा कृषिको बारेमा खोक्रो भाषण मात्र दिने स्थानीय जनप्रतिनिधीको पक्षमा मतदान नगर्न आग्रह गरे । तीनवटै संस्थाले देशभरको गाउँपालिका र नगरपालिकामा आफ्ना सञ्जालमार्फत यही बिषयमा अभियानसमेत थालेका छन् । राष्ट्रिय भूमिअधिकार मञ्चको देशभर र कृषक समूह महासंघले ६५ जिल्लाका गाउँपालिका र नगरपालिकामा अभियानमार्फत यस्तो जानकारी उपलब्ध गराएका छन् ।


क्लिकमान्डु