८० प्रतिशत पुँजीगत खर्च गर्ने गरी काम अगाडी बढाउन उद्योग मन्त्रीको निर्देशन



काठमाडौ । उद्योग मन्त्री नवीन्द्रराज जोशीले ८० प्रतिशत पूँजीगत खर्च गर्ने गरी काम अगाडी बढाउन उद्योग मन्त्रालय र मन्त्रालय अन्तरगतका कर्मचारीहरुलाई निर्देशन दिएका छन् ।

मन्त्रालय स्तरिय विकास समस्या समाधान समितिको बैठकलाई सम्वोधन गर्दै मन्त्री जोशीले अहिले जनमानसमा उद्योग मन्त्रालयबाट धेरै अपेक्षा रहेको भन्दै जनअपेक्षालाई पुरा गर्न मन्त्रालय र मन्त्रालय अन्तर्गतबाट प्रदान गरिने सेवालाई छिटो छरितो र पारदर्शी बनाउन निर्देशन दिएका हुन् ।

अहिलेको समय आर्थिक क्रान्तिका लागि उपयुक्त समय भएको भन्दै मन्त्री जोशीले आर्थिक परिवर्तनको सम्वाहक उद्योग मन्त्रालय बन्न सक्छ पर्ने बताए ।

उद्योग मन्त्रालय सम्हालेको यो ७ महिनाको अवधिमा धेरै उपलब्धि प्राप्त भएको भन्दै मन्त्री जोशीले प्राप्त उपलब्धीलाई सन्तुष्टि होईन खुसी मानेर थप उपलब्धीका लागि कार्य गर्न सामुहिक प्रयासको खाँचो रहेको भन्दै उद्योग मन्त्रालयले लिएको लक्ष प्राप्तिमा सघाउन कर्मचारीहरुलाई आग्रह गरे ।

कामसँग लगाव राखेर अगाडी बढ्न कर्मचारीहरुलाई निर्देशन दिंदै मन्त्री जोशीले आफ्नो कमजोरीलाई समेत समिक्षा गरेर अगाडी बढ्न निर्देशन दिए ।

उद्योग मन्त्रालयका सचिव शंकर प्रसाद कोईरालाले उद्योग मन्त्रालयबाट प्रदान गरिने सेवालाई प्रभावकारी बनाउन निर्देशन दिँदै वेरुजु फछ्यौटलाई प्राथमिकतामा राखेर काम गर्न आग्रह गरे ।

पूँजीगत खर्चमा जोड दिन निर्देशन दिँदै सचिव कोईरालाले खर्च हुन नसक्ने आयोजनाको विवरण कारण सहित तत्काल उपलब्ध गराउन निर्देशन दिए ।


क्लिकमान्डु