पर्यटक आकर्षणको केन्द्र बन्दै पत्तालेडाँडा, दर्जनौं हिमालको दृश्यावलोकन गर्न सकिने



सोलुखुम्बु। पछिल्लो समय पत्तालेडाँडा पर्यटकको आकर्षणको केन्द्र बन्दै गएको छ ।

विश्वको सर्वोच्च शिखर सगरमाथासहित दर्जनौं हिमालको दृश्यावलोकन गर्न सकिने मनोरमस्थल पत्तालेडाँडामा विभिन्न कार्यक्रम समेत आयोजना हुनथालेको छ ।

पत्तालेडाँडामा रहेको लौरेश्वर महादेवथानमा केहीवर्ष अगाडिदेखि नियमित वार्षिक मेला लाग्न थालेको छ । नयाँ वर्षको अवसरमा लगाइने उक्त मेलाले आन्तरिक पर्यकलाई आकर्षित गराएको छ । यहाँ प्राकृतिक शीलामा गाईको पाइला तथा हात्तीको सुडसहितको शीलामा गणेशलाई देख्न सकिन्छ ।

किम्बदन्तीअनुसार सोलुखुम्बुका तिङ्ला र सल्यान क्षेत्रका स्थानीयवासीको गाई त्यस क्षेत्रमा चरनमा लैजाँदा गाईले शीलामा टेकेर गणेशलाई दूध पिलाउने गथ्र्यो । त्यही भएर यस ठाउँको नाम गौरीटाप राखिएको हो । दुई वर्षदेखि नियमित मेला लगाउन सुरु गरिएको यस महादेवथानमा यस वर्ष स्वास्थ्य शिविरसमेत सञ्चालन गरिएको छ ।

यस्तै पत्तालेडाँडामा गत वैशाख १ गते नयाँ वर्षको अवसरमा ‘सेल्फ डिफेन्स मार्सल आर्ट’को अन्तर्राष्ट्रिय सम्मेलन समेत सम्पन्न भएको छ । बाह्य पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यका साथ आयोजित सो सम्मेलनमा पोर्चुगल, भारत र नेपालका खेलाडीको सहभागिता रहेको थियो ।

यस क्षेत्रमा चलचित्रको छायाङ्कन समेत हुने गरेको छ । भर्खरै एक महिना लगाएर ‘स्वर्ग मेरो गाउँ’ नामक चलचित्रको छायाङ्कन सकिएको छ । विभिन्न अवसर, पर्व मनाउन सोलुखुम्बु, ओखलढुङ्गा र खोटाङ लगायतका आन्तरिक पर्यटक यहाँ आउने गरेका छन् । समुद्र सतहदेखि करिब दुई हजार ९०० मिटरको उचाइमा अवस्थित पत्तालेडाँडा क्षेत्रमा गुराँस र सिमल फूल्ने समय चैत अन्तिमदेखि वैशाख दोस्रो सातासम्म आन्तरिक पर्यटकको घुइँचो लाग्छ ।

पत्तालेडाँडाबाट सोलुखुम्बुको अधिकांश भू–भाग, खोटाङ, ओखलढुङ्गा, उदयुर, भोजपुरको समेत दृश्यावलोकन गर्न सकिन्छ । पत्ताले बजार रहेको यस क्षेत्रमा शुक्रबार साप्ताहिक हाट समेत लाग्छ । ओखलढुङ्गाबाट नयाँ वर्षको अवसरमा घुम्न आएकी पार्वती श्रेष्ठ भनिन्, ‘मैले त यतिधेरै मनोरम दृश्यको अवलोकन गर्न सकिन्छ भन्ने सोचेको पनि थिइन ।’

पत्तालेडाँडामा पूर्वाधारको विकासको खाँचो छ । शिविर सञ्चालनका लागि आउनुभएका रोटरी क्लब अफ काठमाडाँैका दिवाकर केसीले पत्तालेडाँडालाई पर्यटकीय क्षेत्रका रुपमा विकास गर्न गुरुयोजनाको आवश्यकता रहेको बताए । ‘पर्यटन प्रवद्र्धनका लागि घरबास(होम स्टे) सञ्चालन गर्न सकिन्छ,’ उनले भने ।

पत्तालेडाँडा भएर तिङ्ला, तुइनटार, काँगेलडाँडा विमानस्थल, मुक्लि र देउसाको झरेनी, देउसाको जालिम, पावै, सोताङ, बुङको मेरापिक हँुदै सगरमाथाको आधारशिविरसम्म पुग्न सकिन्छ ।


क्लिकमान्डु