नेपालको विकास र समृद्धिमा भारतको सदैव सहयोग: भारतीय प्रधानमन्त्री मोदी



नयाँदिल्ली । भारतको राजकीय भ्रमणमा रहेकी राष्ट्रपति विद्यादेवी भण्डारीसँग आज साँझ भेट गरी भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको विकास र समृद्धिका लागि आफ्नो सदैव सहयोग रहने प्रतिबद्धता व्यक्त गरेका छन् ।

भारतीय राष्ट्रपति भवनमा भएको सो भेटमा प्रधानमन्त्री मोदीले नेपाल र नेपालीका विकासका क्षेत्रमा कसरी सहयोग गर्न सकिन्छ भन्नेमा आफूहरु उत्सुक रहेको उल्लेख गर्दै नेपालमा दुई देशबीचका विकास परियोजना, भूकम्पपछिको पुनर्निर्माणसम्बन्धी सहयोग र अन्य परियोजना अघि बढून् भन्ने समेत चाहना राख्नुभएको भेटमा सहभागी परराष्ट्रमन्त्री डा प्रकाशशरण महतले जानकारी दिए ।

राष्ट्रपति भण्डारीले भारतको विकासको गतिबाट सिक्न आवश्यक रहेको जनाउँदै नेपालको लोकतान्त्रिक परिवर्तनलाई संस्थागत गर्ने जनताको चाहनालाई सम्बोधन गर्न नेपाल सरकारले संविधान कार्यान्वयन र स्थानीय निर्वाचनको तयारीका कामलाई अघि बढाएको स्मरण गराएकी थिइन् ।रासस


क्लिकमान्डु