झर्न लागेको ढिस्को झारेपछि मुग्लिन सडक साँझबाट सञ्चालनमा



चितवन । नारायणगढ मुग्लिन सडकखण्डको घुमाउनेमा झर्न लागेको अवस्थामा देखिएको ढिस्कोको ६० प्रतिशत भाग झारिएपछि अहिले साँझ ६ बजेबाट सडक सुचारु भएको छ ।

सडक विस्तारका लागि पहाड काट्दै गरेको ठाँउमा ठूलो चट्टानसहितको पहिरो खस्न लागेपछि आज बिहान १० बजेबाट सडक रोकेर सो पहिरो खसाल्ने प्रयास भइरहेको थियो । नारायणगढ मुग्लिन सडक आयोजनाका इन्जिनियर शिव खनालका अनुसार साँझ करिब ५ बजे ढिस्कोको ठूलो हिस्सा खसालेपछि बाटो खुलाइएको हो ।

व्रेकरको सहायताले दिनभरको प्रयासमा साँझ ढिस्को झार्न सफल भएको उनले बताए । बाँकी भाग झार्ने प्रयास भइरहेको भन्दै उनले झार्न नसकिए पनि सडक सफा गरी साँझ ६ बजेबाट दुईतर्फी सडक सञ्चालन गरिएको बताए।

कुनै पनि बेला ढिस्को झरेर दुर्घटना हुन सक्ने भन्दै आयोजनाले ढिस्को नझारेसम्म सडक सञ्चालन नगर्ने सूचना यसअघिनै गरेको थियो । ढिस्कोको मुख्यभाग खसेपछि खतरा टरेको खनालले बताए। सोही ठाउँमा गएको चैत २१ गते दुई जनाको ज्यान जानेगरी पहिरो खसेको थियो ।


क्लिकमान्डु