व्यापार घाटा घटाउन आन्तरिक उत्पादन बढाउनुपर्छ: अर्थमन्त्री महरा



काठमाडौं । उपप्रधानमन्त्री तथा अर्थमन्त्री कृष्णबहादुर महराले व्यापार घाटा घटाउन आन्तरिक उत्पादन बढाउनु पर्ने बताएका छन् ।

मन्त्री महराले १३ औं अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला तथा नवीनतम प्रविधि २०७४ को उद्घाटन गर्दै सो कुरा बताएका हुन् । ‘आर्थिक सम्वृद्धिका अन्य परिसुचक सकारात्मक अवस्थामा छ, व्यापारमा घाटा छ, आन्तरिक उत्पादन बढाउन सके व्यापार घाटा कम हुनेछ,’ मन्त्री महराले भने ।

आन्तरिक उत्पादन बढाउनका लागि घरेलु उद्योगको भूमिका महत्वपूर्ण हुने मन्त्री महराको तर्क छ ।

‘आन्तरिक उत्पादन बढाउन र व्यापार घाटा घटाउनका लागि नीति, योजना र कार्यक्रम ल्याउने तयारीमा सरकार छ,’ महराले भने ।

आन्तरिक उत्पादन बढाउनका लागि घरेलु उद्योगलाई सहयोग गर्न सरकार तयार रहेको महराले बताए ।

कार्यक्रममा विज्ञान तथा प्रविधि मन्त्री प्रेमबहादुर सिंहले राष्ट्रिय बजेटमा अनुसन्धान र विकासमा जोड दिने कार्यक्रम र नीति ल्याउने तयारीमा सरकार रहेको बताए ।

उद्योगमा अनुसन्धानको प्रयोग हुन नसक्दा उत्पादन बढ्न सकेको छैन, अनुसन्धान गरेर उद्योग मैत्री प्रविधिको प्रयोग गर्न सकेमा उत्पादन बढ्नेछ,’ सिंहले भने ।

उनले देश साधन स्रोतमा गरिब नभएको तर ती साधन स्रोतको समय अनुकुल आधुनिकरण गर्न नसकिएकाले साधन स्रोतको प्रयोग नभएको बताए ।

नेपाल घरेलु तथा साना उद्योग महासंघका अध्यक्ष श्यामप्रसाद गिरीले प्रविधिको प्रयोग गर्दै घरेलु उद्योगमा युवालाई आर्कषित गर्नुपर्ने बताए ।
बिहिबारबाट काठमाडौंको भृकृटी मण्डपमा सुरु भएको मेला ५ दिनसम्म संचालन हुनेछ । मेलामा नेपाल, चीन, पाकिस्तन, बंगलादेश र भारतका २ सय १५ स्टल रहेका आयोजकले जानकारी दिएका छन् ।


क्लिकमान्डु