५ करोडको लगानीमा शाकाहारी होटल, ४० जनालाई रोजगारी



काठमाडौं । काठमाडौंको कमलादीमा ५ करोड रुपैयाँको लगानीमा शाकाहारी ‘गणगोर फुड्स एण्ड सर्भिसेज’ होटल एण्ड रेष्टुरेन्ट संचालनमा आएको छ ।

गणगोर फुड्स एण्ड सर्भिसेज भारतको कलकत्ताको फ्रेन्चाईज भएको होटलका सल्लाहकार गोपाल शर्मा जोगाईले जानकारी दिए ।

नेपालमा शतप्रतिशत शुद्ध शाकाहारी खान खुवाउन स्तरिय होटलको आवश्यकता महशुस गरेर होटल संचालन गरिएको जोगाई बताउँछन् । ‘हाम्रो परिवार पहिलेबाट नै मिठाई व्यवसायमा संलग्न थियौं, यो व्यवसायलाई अलिक विस्तृत तरिकाले अगाडी बढाउनका लागि शाहाकारी होटल संचालन गरेका हौं,’ जोगाईले भने ।

नेपालमा दक्ष जनशक्तिको अभाव भएकाले कामदार कोलकत्ताकै मुख्य संस्थाबाट ल्याइएको उनले जानकारी दिए । एक वर्षसम्म उनीहरु नेपालमा काम गर्ने र यहाँका नेपाली कामदारलाई उनीहरुले तालिम दिने कम्पनीले जानकारी दियो ।

जोगाईले होटल तथा रेष्टुरेन्टको सेवाको गुणस्तरमा कुनै सम्झौता नगर्ने भन्दै विशेषगरि बैंकिंग कर्मचारीहरुलाई लक्षित गरेर विभिन्न सेवाहरु प्रदान गर्ने बताए । ‘खाद्य तथा गुण नियन्त्रण विभागबाट हाम्रा कर्मचारीहरुलाई तालिम दिलाएर काम गरेका छौं, गुणस्तरमा कुनै सम्झौता हुँदैन्,’ उनले भने ।

होटलमा हाल ४० कर्मचारी कार्यरत रहेको जोगाई बताउँछन् । कामदारमा ४० प्रतिशत महिला राखिने र विशेषगरि विद्यार्थीलाई रोजगार दिने उनको योजना छ ।

होटलमा १४ वटा डिलक्स रुम र एउटा सुइट रुम रहेको उनले जानकारी दिए । बैशाख १२ र १३ गते आमाको मुख हेर्ने मातातिर्थ औँशीको अवसर पारेर गणगोरमा आउने ग्राहकलाई १० प्रतिशतको छुटको व्यवस्था गरिएको जोगाईले जानकारी दिए ।


क्लिकमान्डु