विस्तार हुँदै कफी कल्चर: देशभरका २१ ठाउँमा हिमालयन जाभाका शाखा छिट्टै




काठमाडौं । नेपालमा कफी कल्चरको विकास गर्दागर्दै आफैं पनि अन्तर्राष्ट्रिय ब्राण्ड बनेको हिमालयन जाभाले देशभरका २१ ठाउँमा छिट्टै शाखा विस्तार गर्ने भएको छ ।

शाखा खोल्नका लागि कम्पनीले भाडामा घर खोजिरहेको छ । जाभाले काठमाडौं उतत्यकाका विभिन्न १४ ठाउँ र काठमाडौं बाहिर ७ ठाउँमा आफ्नो शाखा विस्तारका लागि घर भाडामा खोजेको हो ।

अहिले हिमालयन जाभाका देश/विदेशमा गरी २५ शाखा छन् ।

जाभाले काठमाडौं उपत्यकाका बानेश्वर, जावलाखेल, भक्तपुर, पाटन, लाजिम्पाट, महाराजगञ्ज, न्यूरोड, कुमारीपाटी, कुपण्डोल, बत्तिसपुतली, बालुवाटार, सिनामंगल, चाबहिल र कालिमाटीमा शाखा खोल्न घर भाडामा खोजेको हो ।
त्यसैगरी, काठमाडौं बाहिरका पोखरा, बिराटनगर, बिर्तामोड, धरान, बुटवल, भैरवहा र लुुम्बीनीमा पनि घर भाडामा चाहिएको भन्दै केहीदिन अघि एक दैनिक पत्रिकामा विज्ञापनसमेत गरेको थियो । उक्त विज्ञापनमा अन्तर्राष्ट्रिय चेन कफीसप खोल्नका लागि घर भाडामा चाहिएको उल्लेख छ ।

जाभाले ग्राउन्ड फ्लोरमा १ हजार देखि २ हजार स्क्वायर फिट स्पेस भएको घर भाडामा खोजेको हो । जाभाले मेन रोडबाट देखिने ठाउँमा भएको घरलाई विशेष प्राथमिकता दिने जनाएको छ ।

काठमाडौंका गगन प्रधानले भित्र्याएको हिमालयन जाभामा करिब ७० प्रकारका कफी तयार हुन्छन्, जसको मूल्य प्रतिकप १ सय ५० रुपैयाँदेखि ३ सय रुपैयाँसम्म पर्छ ।

विज्ञापनमा कुन ब्राण्ड भनेर प्रष्ट खुलाइएको छैन । तर, स्रोतका अनुसार हिमालयन जाभाले आफ्नो ‘फ्रेन्चाइज आउटलेट’ विस्तार गर्न लागेको हो ।

‘२१ ठाउँमा फ्रेन्चाइज आउटलेटका लागि हामीले घर भाडामा खोजिरहेका छौं,’ हिमालयन जाभा स्रोतले भन्यो- ‘२ वर्षभित्र सबै ठाउँमा शाखा विस्तार गरिसक्ने हाम्रो योजना छ ।’

जाभाका एक उच्च व्यवस्थापनले दिएको जानकारी अनुसार यी शाखाहरुमा कम्पनीले आफैं लगानी गर्ने होइन । नयाँ लगानीकर्ताहरुले हिमालयन जाभाको ‘फ्रेन्चाइज आउटलेट’ खोल्ने हुन् ।

एउटा फ्रेन्चाइज आउटलेट खोल्ने नयाँ लगानीकर्ताले हिमालयन जाभालाई २० लाख रुपैयाँ तिर्नुपर्ने छ । त्यसबाहेक हिमालयन जाभाको स्टान्डर्ड मेन्टेन गर्न ५० लाख रुपैयाँको हाराहारीमा डेकुरेसन खर्च लाग्ने कम्पनीले जनाएको छ ।

यसरी खोलिएका आउटलेटहरुको व्यवस्थापन हिमालयन जाभाले गर्नेछ । व्यवस्थापन सम्हालेबापत जाभाले कुल ब्यापारको ७ प्रतिशत रोयल्टीबापत लिनेछ ।

१८ वर्षअघि अर्थात् सन् १९९९ मा ठमेलमा खुलेको हिमालयन जाभा अन्तराष्ट्रिय ब्राण्डका रुपमा विस्तार भइरहेको छ ।

काठमाडौंका सुन्धारा, ब्लुबर्ड, त्रिपुरेश्वर, कमलादी, कमलपोखरी, वसन्तपुर, भक्तपुर लगायत र उपत्यका बाहिरका पोखरा, लुक्ला, मुस्ताङलगायतका ठाउँहरुमा जाभाले यसअघिनै शाखा विस्तार गरिसकेको छ ।

त्यसैगरी क्यानडा, बेलायत, अष्ट्रेलिया, अमेरिका, भूटानलगायतका देशमा पनि जाभाले आफ्नो शाखा विस्तार गरिसकेको छ ।

अहिले हिमलयन जाभा अन्तराष्ट्रिय चेन कफीसपको ब्राण्ड बनिसकेको छ । त्यसैले काठमाडौंमा कफी कल्चरको विकास गर्ने गगनलाई नै जान्छ ।

विश्व प्रख्यात इन्डोनेसियाली ब्राण्ड जाभा र नेपालीपन बोक्ने हिमाल जोडेर हिमालयन जाभाको नामबाट सुरु गरिएको यो कफी व्यवसायले अहिले ठूलो फड्को मारिसकेको छ । कफी सपले शहरी जीवनशैली धेरै हदसम्म परिवर्तनसमेत गरिदिएको छ।

काठमाडौंका गगन प्रधानले भित्र्याएको हिमालयन जाभामा करिब ७० प्रकारका कफी तयार हुन्छन्, जसको मूल्य प्रतिकप १ सय ५० रुपैयाँदेखि ३ सय रुपैयाँसम्म पर्छ ।

हिमालयन जाभाका सञ्चालक गगन सन् १९९५ मा अध्ययनका लागि अस्ट्रेलिया गएका थिए । ५ वर्ष अष्ट्रेलिया बस्दा गगनलाई कफीको लत लागिसकेको थियो ।

त्यसपछि सन् १९९९ को अन्त्यतिर नेपाल फर्केर कफी सप खोलेका हुन् । सुरुका केही वर्ष बिजनेश धान्न निकै हम्मेहम्मे परेको थियो गगनलाई । किनभने त्यसबेलासम्म काठमाडौंमा कफी कल्चरको विकास भइसकेको थिएन ।

तर, अहिले हिमलयन जाभा अन्तराष्ट्रिय चेन कफीसपको ब्राण्ड बनिसकेको छ । त्यसैले काठमाडौंमा कफी कल्चरको विकास गर्ने श्रेय उनैलाई जान्छ ।


पुष्प दुलाल