सिमेन्ट उद्योगले पाए दोहोरो करबाट मुक्ति, खानीमा कर तिरे हुने




काठमाडौं । जिल्ला बन कार्यालय पाल्पाले सिमेन्ट उद्योगमाथिको दोहोरो करको ब्यवस्था हटाएको छ । सिमेन्ट उद्योगलाई पत्राचार गर्दै बन कार्यालयले यसअघिको ब्यवस्था अनुसारै खानी बिभागमा कर तिरेका उद्योगले बन कार्यालयमा पुनः कर तिर्नु नपर्ने अल्पकालिन ब्यवस्था गरेको हो ।

बन विभागले सिमेन्ट उत्पादनको लागि चाहिने चुनढुंगा प्रयोगमा कर मागेपछि सिमेन्ट उत्पादन कम्पनी समस्यामा परेका थिए ।

चैत ८ मा बन विभागले पाल्पामा संचालिन चुनढुंगा खानी संचालन गर्ने सिमेन्ट उद्योगलाई तुरुन्त कर तिर्न आउन पत्राचार गरेको थियो ।

विभागले सचिवस्तरको निर्णय भन्द पत्र काटेको थियो। विभागले केही दिन अगाडि धादिङ जिल्लामा संचालित अन्नपूर्ण क्युरीलाई पनि तीन दिनभित्र कर तिर्न र सो समयमा नतिरेमा बन्द गरिदिने धम्की सहितको पत्र पठाएको थियो । विभागको यस्तो कार्य विरुद्ध बनमन्त्री शंकर भण्डारीले हस्तक्षेप गरी उद्योग संचालनमा सहजिकरण गरेका थिए ।

तर बनले फेरि अर्काे पत्र पठाउँदै अर्काे निर्णय नभएसम्मको लागि पुरानै ब्यवस्था अनुसार कर तिर्न पत्राचार गरेको एक उद्योगीले जानकारी दिए । बनले अहिले पठाएको पत्रमा मन्त्री वा सचिबस्तरीय अर्काे निर्णय नभएसम्मको लागि पुरानै ब्यवस्था अनुसार कर तिर्न भनिएको छ ।

‘मन्त्री वा सचिबस्तरीय अर्काे निर्णय नभएसम्मको लागि पुरानै ब्यवस्था अनुसार कर तिर्नु भनिएको छ, यो पत्रले उद्योग संचालन गर्दा दोहोरो कर तिर्नु नपर्ने गरी सहजता भएको छ,’ सिमेन्ट उद्योग संचालक एक उद्योगीले क्लिकमाण्डूसँग भने ।

२०६८ सालमा बन मन्त्रालयले सचिवस्तरीय निर्णय गर्दै बनसँग सम्बन्धित सबै प्रकारका कर बन कार्यालयहरुबाट उठाउने निर्णय गरेको थियो । सोभन्दा अगाडि खानी संचालन नियमावलीमा खानी विभागलाई कर तिर्नुपर्ने ब्यबस्था थियो ।

तर, बन विभागले बन क्षेत्रमा खानी परेको भन्दै आफैले कर उठाउने निर्णय गरेको थियो।


क्लिकमान्डु