अब सरकारी कर्मचारी र बैदेशिक रोजगारीमा जानेका परिवारको स्वास्थ्य बीमा अनिवार्य



काठमाडौं । अब सरकारी कर्मचारीको अनिवार्य स्वास्थय बीमा हुने भएको छ । त्यस्तै बैदेशिक रोजगारीमा जाने कामदारका परिवारको स्वास्थ्य बीमा अनिवार्य गरिने भएको छ । परिवारको स्वास्थ्य बीमा गरेपछि मात्रै बैदेशिक रोजगारका लागि जान पाइनेछ ।

केही दिनअघि मन्त्रिपरिषदबाट पारित स्वास्थ्य बीमा विधेयक–२०७३ मा यस्तो व्यवस्था गरिएको हो । संसदबाट पारित भएपछि मात्रै यो व्यवस्था लागू हुने छ ।
बिधेयकमा देश, प्रदेश तथा स्थानीय निकायका प्रत्येक कर्मचारीको अनिवार्य स्वास्थ्य बीमा गरिनुपर्ने उल्लेख भएको स्वास्थ्यमन्त्री गगन थापाले जानकारी दिए ।

स्वास्थ्य बीमा सरकारले ५० हजार रुपैयाँसम्मको उपचार गर्दा बिमितले कुनैपनि उपचार शुल्क तिर्नुपर्ने छैन ।

मन्त्री थापाका अनुसार वृद्धाश्रम, अनाथालय, सुधार गृहलगायतका संरक्षित संघसंस्थाहरुमा आश्रति व्यक्तिहरुको पनि स्वास्थ्य बीमा गर्नुपर्ने भएको छ । त्यस्ता व्यक्तिको बीमा गराउने दायित्व संरक्षण गर्ने संस्थाको हो ।

नवजात शिशु, बालबालिका, जेष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति तथा अशक्तलाई स्वास्थ्य बीमा कार्यक्रममा आवद्ध गर्नु निजको संरक्षक तथा अभिभावकको कर्तव्य हुनेछ । प्रत्येक नागरिकलाई स्वास्थ्य बीमा कार्यक्रममा आवद्ध भई सेवा पाउने संबैधानिक अधिकार अधिकार छ ।

गरीबीको रेखामुनी रहेका तथा स्वास्थ्य बीमा अन्तर्गतको रकम तिर्न नसक्ने परिवारका लागि सरकारले नै रकम तिरिदिने व्यवस्था गरिएको मन्त्री थापाले बताए ।

३ वर्षदेखि सरकारले पाइलट प्रोजेक्टको रुपमा स्वास्थ्य बीमा कार्यक्रम लागू गर्दै आएको छ । तर, स्वास्थ्य बीमा सम्बन्धी ऐनको अभावमा यसको प्रभावकारी कार्यान्वयन हुन सकेको थिएन ।

सरकारले सञ्चालन गरेको स्वास्थ्यबीमासम्बन्धी कार्यक्रममा हालसम्म ४५ हजार २ सय ७७ जना सहभागि छन् ।

स्वास्थ्य बीमा सरकारले ५० हजार रुपैयाँसम्मको उपचार गर्दा बिमितले कुनैपनि उपचार शुल्क तिर्नुपर्ने छैन ।

सरकारले नेपालीको औषत परिवार ५ जनाको हुने भन्दै सो परिवारले वार्षिक २५ सय रुपैयाँ प्रिमियमबापत सरकारलाई तिर्नुपर्नेछ । ५ भन्दा बढी परिवार संख्या भएकाहरुले भने थप २५ सय रुपैयाँ प्रिमियम तिर्नुपर्छ ।


पुष्प दुलाल