स्थानीय निर्वाचनमा युवा उम्मेदवारलार्इ प्राथमिकता



 

कालीकोट । दुई दशकपछि हुन थालेको स्थानीय तहको निर्वाचनमा कालीकोट जिल्लामा विभिन्न राजनीतिक दलले युवा तथा युवतीलाई उम्मेदवारमा अघि सारेका छन् ।

पछिल्लो समय युवाको राजनीतिकप्रति सक्रियता बढेपछि पार्टीमा पनि युवालाई प्राथमिकताका लागि दबाब बढ्न थालेको हो । नेकपा (एमाले) कालीकोटले अधिकांश युवालाई उम्मेदवारका लागि अघि सारेको बताएको छ । कालीकोट जिल्लाका छ गाउँपालिका र तीन नगरपालिकामा युवालाई नै अघि सारेको नेकपा (एमाले) कालीकोटका जिल्ला सदस्य हेमराज सज्यालले बताए ।

उनले पार्टीमा छलफल गरेर युवालाई प्राथमिकतामा राखेको बताउँदै सबैभन्दा कम उमेरका रास्कोट नगरपालिकाको ५ नं वडापालिकामा २४ वर्षका वीरेन्द्र फर्साललाई उम्मेदवार दिएको बताए । सान्नी त्रिवेणी नगरपालिकामा पत्रकार तथा विद्यार्थी नेता पार्वती सिंहलाई उपाध्याक्षमा छनोट गरिएको छ ।

कालीकोट जिल्लामा युवाभन्दा पनि बूढापाकालाई प्राथमिकतामा राख्ने आरोप लाग्ने गरेको नेपाली काँग्रेसमा समेत युवाको नाम चर्चामा आएको छ । नेपाली काँग्रेसले जमाना अनुसार युवालाई राजनीतिक स्तरमा वृद्धि गर्न लागि परेको नेपाली काँग्रेस कालीकोटले जनाएको छ । काँग्रेस जिल्ला सदस्य निलो तिरुवाले अहिलेको स्थानीय निर्वाचनमा अधिकांश युवा प्राथमिकतामा पर्ने दाबी गरे ।

अबको केही दिनमा उम्मेदवार छनोट गरिने बताउँदै अहिले पार्टीमा उम्मेदवारका लागि व्यापक बहस हुँदै आएको छ । उनकाअनुसार ठूलो अनि पुरानो पार्टी भएकाले सबै कार्यकर्ताको आकांक्षाअनुसार पूरा गर्न नसकिने भएकाले व्यापक बहस गर्नुपरेको छ ।

त्यसैगरी नेकपा (माओवादी केन्द्र) कालीकोटले सबैभन्दा बढी आफ्नो पार्टीले युवालाई प्राथमिकतामा राखेको दाबी गरेको छ । नेकपा (माओवादी केन्द्र) महाधिवेशन आयोजक समिति सदस्य धर्मराज शाहीले छ गाउँपालिका र तीन नगरपालिकामध्ये चार गाउँपालिकामा युवालाई उम्मेदवारी दिएको बताए । उनका अनुसार पचालझरना गाउँपालिकामा युवा उम्मेदवार खडकराज सेजुवाल, नरहरिनाथ गाउँपालिकामा अग्रबहादुर विष्ट, तिलागुफा नगरपालिकामा रतनबहादुर शाही, पलाँता गाउँपालिकामा अनन्त विकलगायतका उम्मेदवार चर्चामा छन् ।

अबको विकास निर्माणलगायतका काममा युवाको दृष्टिकोण हुने भएकाले युवालाई प्राथमिकतामा राख्नुपर्ने सरोकारवालाको जोड रहेको छ ।


क्लिकमान्डु