यसरी सुरु गर्यो ‘फोर्ब्स’ले अर्बपतिको सूचि राख्ने चलन



सन् १९८७ देखि फोर्ब्सले विश्वका धनाड्यहरुको ‘पिछा’ गर्ने र उनीहरुको सम्पत्तिको तथ्याङ्क राख्ने काम गर्दै आएको छ । सन् १९८० को दशकको भूमण्डलीकरण र प्रविधिको विकासले विश्वलाई खुम्च्यायो र विश्वको धनाड्यहरुलाई एकै ठाउँ भेला गरी समग्र तस्वीर खिच्न संम्भव बनायो ।

‘राजनीतिक नेताहरुलाई राष्ट्रिय सीमाले अझै सन्तुष्ट बनाइरहेको छ’, सन् १९८७ को पहिलो सूचिमा भनिएको थियो,- ‘तर, ब्यवसायीहरुलाई भने यसले सन्तुष्ट बनाउन छाडिसक्यो ।’

फोर्ब्सको पहिलो संस्करणले २४ देशका १४० अर्बपतिहरु वा परिवारहरु सूचिकृत गरेको थियो । त्यो समय जापानका घरजग्गा ब्यवसायी योसियाकी सुट्सुमी विश्वको सबैभन्दा ठूलो घनाड्य व्यक्तिमा दरिएका थिए । उनका अलावा जापान धेरै अर्बपतिहरुको घर थियो । अमेरिकापछि जापान नै धेरै अर्बपतिहरु भएको देश थियो ।

यो बर्ष बिश्वका ७१ देशबाट २ हजार ४३ जना अर्बपतिहरु सूचिकृत भएका छन् । अमेरिका अझै पहिलो स्थानमा छ । तर, दोस्रोमा जापानलाई चीनले उछिनिसकेको छ । बिल गेट्स संसारकै धनी ब्यक्ति भएका छन् । र, उनले बिगत २३ बर्षमा १८ बर्ष यो सूचिको नेतृत्व गरे ।

अर्बपतिहरुको भाग्य र दुर्भाग्य विश्वव्यापी आर्थिक शक्तिको बहाव सँगै बहकिरहो । जस्तो, एसियाली आर्थिक मन्दी र इन्टरनेट बुम । एसियाली मन्दीले धेरैलाई सडकमा ल्यायो भने इन्टरनेटको उदयले कमाएको सम्पत्तिलाई अझै कसैले चुनौति दिन सकेको छैन । त्यस्तै सन् २००८ को आर्थिक मन्दीले धेरैको ढाड भाँच्यो ।

ब्ल्याक बेरी फोन बनाउने जेम्स बालसिली, माइक लाजारिडिसहरु सन् २००७ मा अर्बपतिहरुको सूचिमा उक्लिए । तर, सन् २०१२ नपुक्दै उनीहरु सूचिबाट गायब भए । एलिजाबेथ होल्मस सन् २०१५ मा बिश्वकै कान्छी स्वनिर्मित अर्बपति बनिन् । तर, यस बर्ष उनी त्यहाँ अट्न सकिनन् । कुनै बेला ३० अर्ब डलरको मालिक र विश्वको ७औं धनी व्यक्ति आइक बाटिस्टासँग हाल ३० करोड डलरको मात्र सम्पत्ति छ । उनको तेल कम्पनी ‘ब्याङ्करप्ट’ भैसकेको छ ।

तर, १९ जना यस्ता अर्बपतिहरु पनि छन्, जो सन् १९८७ को अर्बपतिको सूचिमा थिए । उनी अहिले पनि जिवित छन् । र, सूचिमा सुरक्षित साथ बसेका छन् । सेयर बादशाह वारेन बफेट र ली का सिङ तिनै मध्येका हुन् ।

तीस बर्षपछि पनि फोर्ब्सको पहिलो संस्करणको बाक्य अझै सान्दर्भिक छः ‘जसले अर्ब डलर बनाएको र ब्यवस्थापन गरेको छ, उसैलाई यो बिश्व कसरी चल्छ भनेर जानकारी हुन्छ ।’


पुष्प दुलाल