बाफियामा लालमोहर लागेपछि घट्न थाल्यो सेयर बजार



काठमाडौं । साताको कारोबारको तेस्रो दिन नेप्से ३.४ अंकले घटेको छ । राजनीतिक सहमतिले आइतबार तताएको बजार सोमबार र मंगलबार भने लगातार घटेको छ ।

यद्यपि हिजो सोमबार १७.९४ अंकले घटेको नेप्से आज मंगलबार सम्हालिंदै ३.४ अंकले मात्र घट्यो । मंगलबार नेप्से परिसूचक १६७२.३८ अंकमा बन्द भयो । कारोबार रकममा पनि धेरै सुधार आएको छ । सोमबार ९६ करोड ५२ लाख रुपैंयाँको कारोबार भएकोमा मंगलबार १ अर्ब १३ करोड रुपैंयाँको कारोबार भएको छ ।

बिगत केही हप्तामा तिब्र गतिमा बढेको नेप्से पछिल्ला केही दिनमा थोरै सुस्ताउनुलाई दुई तरिकाले हेर्न सकिन्छ ।

पहिलो, चुनावी ‘तराजु’ लाई नै नेप्सेको उतारचढावको महत्वपूर्ण कारण हो । समयमै शान्ति पूर्ण चुनावको माहोल बन्दै गर्दा नेप्से चढ्ने र प्रतिपक्षको असहमति लगायत कुरा सार्वजनिक हुँदा नेप्से ओर्लने गरेको तथ्यले यसको पुष्टि गर्छ ।

दोस्रो, राष्ट्रपतिबाट भर्खरै लालमोहर लागेको बाफिया । संचालनमा आएको १० बर्ष पुरा भएका बैंक तथा बित्तिय संस्थाको सबै संस्थापक सेयर साधारण सेयरमा परिणत हुने ब्यवस्थाका कारण पनि लगानीकर्ता आत्तिएका छन् । यसरी ठूलो मात्रामा संस्थापक सेयर साधारणमा परिणत भई दोस्रो बजारमा आउँदा माग भन्दा आपुर्ती बढ्ने र मुल्य धेरै घट्न सक्ने अवस्था आउन सक्ने आंकलन लगानीकर्ताले गरेका छन् ।

तर, वास्तवीक अवस्था भने त्यस्तो होइन । ‘अब सबै संस्थापक सेयर साधारणमा परिणत भइहाल्ने हुँदैंन, हामी अध्ययन गरेर मात्र संस्थापक सेयरलाई साधारणमा परिणत गर्छौं,’ राष्ट्र बैंकका प्रवक्ता नारायण पौडेल भन्छन् ।

बाफियामा संस्थापक सेयरलाई साधारणमा परिणत गर्नको लागि शर्त तोकिएको छ । राष्ट्र बैंकका प्रवक्ताका अनुसार संस्थापक सेयर साधारणमा परिणत भएपछि पूँजी बजारमा पर्ने प्रभावको आंकलन गरेर मात्र उपयुक्त निर्णय लिइने बताउँछन् ।

यसको अर्थ बाफियासँग आत्तिइहाल्नु पर्ने कारण देखिंदैन । र, प्रतिपक्षले केही बिरोध गरे पनि निवार्चनको माहोल बन्दै गएको नै देखिन्छ । प्रतिपक्षको बिरोध सार्वजनिक खपतका लागि मात्र पनि हुनसक्छ ।

लगानीकर्तालाई आजको दिनको प्रमुख चुनौती र अवसर भनेकै कम्पनीहरुको तेस्रो त्रैमासको बित्तिय बिवरणको राम्रो अध्ययन गरि लगानी गर्नु नै हो । बाँकी कुरा तपसिल हुन् ।
सोमबार १४७ कम्पनीको १४ लाख १५ हजार ८ सय ५९ कित्ता सेयर कारोबार भएको छ । उप—सूचकहरुमा बैकिङ ८.४२, जलबिद्युत ८.५२ र अन्य १.७४ अंकले घटेका छन् । यसैगरी ट्रेडिङ २.१, होटेल २१.७१, बिकास बैंक ०.४६, बित्त ३.०१, बीमा ५१.७३ र उत्पादन ०.३७ अंकले बढेका छन् ।

मंगलबार सबैभन्दा बढि कारोबार हुने ३ कम्पनीमा हिमालयन जनरल इन्स्योरेन्स, प्राइम लाइफ र प्रभु बैंक रहेका छन् । उनीहरुको क्रमशः ९ करोड ९४ लाख, ८ करोड ४२ लाख र ४ करोड ८३ लाख रुपैंयाँको कारोबार भएको छ ।

मंगलबार ६ वटा कम्पनीका लगानीकर्ताले १० प्रतिशतले कमाएका छन् । स्वरोजगार लघुबित्त, ललितपुर फाइनान्स, राष्ट्रिय बीमा कम्पनी, राष्ट्रिय बीमा कम्पनी प्रमोटर, कन्काई बिकास बैंक र श्री इन्भेस्टमेन्टका लगानीकर्ताले १० प्रतिशतले कमाएका हुन् ।

यसैगरी सबैभन्दा बढि गुमाउनेमा पोखरा फाइनान्स, मिथिला लघुबित्त र कर्णाली बिकास बैंकका लगानीकर्ता रहेका छन् । उनीहरुले ६.९, ६.७५ र ४.६ प्रतिशतले गुमाएका हुन् ।


क्लिकमान्डु