यो ‘आइडिया’ लगाउनुहोस्, सेयर बजारबाट नाफै नाफा



काठमाडौं । सेयर बजारबाट पैसा कमाउनका लागि राम्रो कम्पनी छान्ने कलाका अलावा सेयर बेच्ने र किन्ने उपयुक्त समयको पहिचान गर्ने क्षमताको पनि ठूलो खाँचो रहन्छ ।

राम्रै कम्पनीको सेयर किने पनि समय गलत परिदियो भने नाफा त परै जाओस बरु घाटा हुनसक्छ । राम्रो कम्पनी कसरी छान्ने, वित्तीय बिवरण कसरी अध्ययन गर्ने, कस्ता बिवरण र अनुपातलाई प्राथमिकतामा राख्ने लगायत कुरामा धेरै कुरा भनिने र लेखिने गर्छ ।

यद्यपि सेयर बेच्ने र किन्ने प्रक्रियाका बारे भने खासै चर्चा गरिदैंन । यस लेखमा मुलत सेयर बिक्री गर्ने प्रक्रियाका बारे चर्चा गरिनेछ । सामान्य लगानीकर्ताको कुरा सुन्ने हो भने उनीहरु सेयर किन्ने भन्दा पनि बेच्ने उपयुक्त समय पहिल्याउन निकै संर्घष गर्छन् ।

वास्तवमा सेयर बेच्ने उपयुक्त समय पहिल्याउनु निकै कठिन काम हो । यो यति धेरै गाह्रो हुनुको प्रमुख कारण भनेको लगानीकर्ताले आफ्नो कारोबार र आफ्ना भावनाहरुलाई सन्तुलनमा राख्न नसक्नु हो ।

डर, लोभ र पश्चाताप तीन त्यस्ता मानवीय भावनाहरु हुन्, जसले लगानीकर्ताको बिक्री कारोबारलाई धेरै असर पुर्याउँछ । यस्ता भावनाहरु माथि सन्तुलन बनाउन सक्नु नै सफल लगानीकर्ता बन्ने बाटोमा अग्रसर हुनु हो ।

उदाहरणको लागि धेरै लगानीकर्ताहरु आफ्नो सेयर मुल्य १०-२० प्रतिशतले बढ्दा बेच्न चाँहदैनन् । उनीहरुलाई लाग्छ कि उनीहरुको सेयरको मुल्यले आकाश छुन्छ । यो लोभले गर्दा उनीहरुलाई सेयर बेच्न गाह्रो हुन्छ । अब अर्को पाटो, यदि सेयर मुल्य १०-२० प्रतिशतले घट्यो भने पनि धेरै लगानीकर्ताले सेयर बेच्दैनन् । किनभने पछि सेयर मुल्य बढ्यो भने उनीहरुलाई पश्चाताप हुन्छ ।

त्यसोभए कतिबेला बेच्ने त सेयर ? यो धेरै लगानीकर्ताले जवाफ दिनै नसक्ने आधारभुत प्रश्न हो । तर, सौभाग्यबश केही प्रक्रियाहरु छन्, जसले सेयर बेच्ने कामलाई धेरै सजिलो, र यान्त्रीक बनाइदिन्छ ।

सेयरको मुल्याङ्कन गरेर बेच्ने निर्णय गर्नु एउटा राम्रो उपाय हो । आफुले तय गरेको ‘मुल्याङ्कन टार्गेटमा’ पुगेपछि सेयर बेच्ने एउटा सजिलो उपाय हो । सेयर मुल्याङ्कनको लागि भने ‘प्राइस अर्निङ रेसियो’, ‘प्राइस टु बुक’, ‘प्राइस टु सेल्स’ जस्ता अनुपातहरुलाई आधार बनाउन सकिन्छ । यो उपाय सेयर लगानीकर्ता (कारोबारी होइन) माझ निकै चर्चित छ ।

आफुले तय गरेको मुल्याङ्कन लक्ष्यबाट बढेपछिको समयलाई सेयर बेच्ने उपयुक्त समयको रुपमा लिन सकिन्छ ।

उदाहरणको लागि, मानौं कोही लगानीकर्तासँग सानिमा बैंकको सेयर छ, र उसले मुल्य आम्दानी अनुपात (पिइ रेसियो) १५ हुँदा उक्त सेयर किनेको थियो ।

अब मान्नु्स सानिमा बैंकको विगत ५ बर्षदेखिको औसत मुल्य आम्दानी अनुपात २० छ । यस्तो अवस्थामा लगानीकर्ताले २० को मुल्य आम्दानी अनुपातलाई बिक्री सिग्नलको रुपमा राख्न सक्छ । अर्थात् मुल्य आम्दानी अनुपात २० भन्दा बढ्यो भने सेयर ‘ओभर भ्यालुड’ हुन्छ, र यो सेयर बेच्ने उपयुक्त समय हो । यसरी सेयर बेच्ने कामलाई भावनाबाट अलग गर्न सकिन्छ ।

एउटा सेयर होल्ड गरेर बस्नु भन्दा बेचेर अर्को सेयर किन्दा हुने फाइदाको आंकलन गरी सेयर बेच्ने निर्णय लिनु सेयर बेच्ने अर्को तरिका हो । यसका लागि आफ्नो पोर्टफोलियोको निरन्तरको निगरानी तथा अध्ययन र अनुसन्धानकने आवश्यकता पर्छ । आफुसँग भएको भन्दा फाइदाजनक अर्को सेयर भेट्नु यस प्रक्रियाको लागि सबैभन्दा महत्वपूर्ण कुरा हो ।

सेयर बेच्ने तेस्रो तरिका भनेको कम्पनीको बित्तिय बिवरणको अध्ययन हो । कम्पनीको वित्तीय बिवरणका महत्वपूर्ण अनुपातहरु निश्चित बिन्दुबाट तल झरे बिक्री गर्ने निर्णय गर्न सकिन्छ । यो रणनीति र अघिल्लो रणनीतिमा केही समानता छन् । खस्कदो वित्तीय बिवरणका आधारमा सेयर बेच्ने निर्णय गर्दै गर्दा लगानीकर्ताले ‘ब्यालेन्स सिट’ का बिभिन्न अनुपातहरुमा ध्यान दिनुपर्छ ।

तरलता, प्रतिसेयर आम्दानी, खराब कर्जा, आरओइ, नेट वर्थ, जगेडा कोष, ब्यवसाय बृद्धि जस्ता सूचकहरु महत्वपूर्ण हुन्छन् ।

सेयर किन्दै कतिसम्म घट्दा होल्ड गर्ने र कति बढेपछि बेच्ने तय गर्नु अर्को रणनीति हो । जस्तो, कुनै लगानीकर्ताले सेयर किन्दा आफुले किनेको मुल्यबाट १० प्रतिशतसम्म घटे होल्ड गर्छु, त्यो भन्दा बढि घट्न थाले बेच्छु भनेर निर्णय गर्नसक्छ । त्यस्तै, उदाहरणको लागि, आफुले किनेको मुल्यमा १० प्रतिशतले बढेपछि बेच्छु भनेर पनि पहिल्यै तय गर्नसक्छ । यसो गर्दा सेयर बेचेपछि हुने पश्चातापबाट मुक्ति पाउन सहज हुन्छ ।

यदि लगानीकर्तालाई प्रतिशतमा हिसाब गर्न असहज लाग्छ भने सेयर मुल्यलाई नै लक्ष्यको रुपमा पनि राख्न सकिन्छ । जस्तो, यदि आफुले कुनै सेयर प्रति कित्ता ५०० रुपैंयाँमा किनेको छ भने ७०० पुगे बेच्ने लक्ष्य राख्ने । त्यस्तै, ४०० सम्म घटे होल्ड गर्ने । तर, ४०० भन्दा बढि घट्न थाले बेच्ने ।

लगानीगर्दा आफ्नो लगानीबाट भएको घाटा स्वीकार गर्नु निकै कठिन काम हो । धेरै जसो समयमा उपयुक्त सेयर छान्नु मात्र होइन उपयुक्त समयमा बेच्नुले पनि सफल लगानीकर्ता बनाउँछ ।

अन्तमा मानवीय भावना र ‘हार्डकोर’ लगानी निर्णय फरक फरक कुरा हुन् । माथि उल्लेख गरेका केही कुराहरुले पक्कै पनि लगानीकर्तालाई सेयर बेच्दा आफ्ना भावनाहरुलाई अलग्गै राख्न सहयोग पुर्याउनेछ ।


पुष्प दुलाल