काठमाडौंका ३ स्थानमा ओभरहेड व्रिज बन्ने, परामर्शदाता छनौट प्रकृयामा



फाइल

काठमाडौं । उपत्यका भित्र सडक दुर्घटना न्युनिकरण र ट्राफिक जाम घटाउनका लागि भन्दै काठमाडौं महानगरपालिकाले ३ स्थानमा नयाँ ओभरहेड ब्रिज बनाउने भएको छ ।

महानगरपालिकाले काठमाडौंको बबरमहलको काठमाडौं जिल्ला अदालत अगाडी, चाबहिल चोक र विष्णुमतिस्थित शोभा भगवती जाने बाटोमा ओभरहेड व्रिज निर्माण गर्न लागेको हो ।

ओभरहेड व्रिज निर्माण गर्ने प्रक्रियाका लागि महानगपालिका परामर्शदाता छनौट गर्ने प्रक्रियाको तयारीमा लागेको खरिद तथा विक्री विभागका प्रमुख दिपक अधिकारीले जानकारी दिए । ‘महानगरपालिका काठमाडौंको ३ स्थानमा ओभर हेड व्रिज निर्माण गर्ने प्रक्रियामा छ, २÷४ दिन भित्रमा परामर्शदाता छनौटको प्रकृयामा जाने छौं,’ अधिकारीले भने ।

महानगरपालिकाका सहरी पूर्वाधार विकासका प्रमुख उत्तरकुमार रेग्मीकाअनुसार ओभरहेड व्रिज निर्माण हुने तीन वटै स्थानको माटो परिक्षण भईसकेको बताउँछन् ।

‘ओभरहेड व्रिज बन्ने स्थानको माटो परिक्षण भईसकेको छ । सम्भाव्यता अध्ययनका लागि परामर्शदाता आवश्यक हुन्छ, परामर्शदाता छनोट गर्ने जिम्मा खरिद तथा बिक्री इकाईको हो,’ रेग्मीले भने ।

खरिद तथा विक्री विभागका प्रमुख अधिकारीकाअनुसार संभाव्यता अध्ययन पत्रमा काठमाडौं जिल्ला अदालत अगाडी उल्लेख हुनुपर्नेमा सर्वोच्च अदालत अगाडि उल्लेख भएकाले त्यो त्रृटि सच्याउन समय लागेकाले परामर्शदाता छनौट प्रक्रिया लम्बिन गएको बताउँछन् ।

महानगरले किन रोज्यो यी ३ स्थान ?

बबरमहल क्षेत्र काठमाडौंको संवेदशील क्षेत्र भएको उत्तरकुमार रेग्मीले बताए । ‘सो स्थानमा ६ लेनको अरनिको राजमार्ग छ, गाडीहरु द्रुत गतिमा आउने भएकाले मानिसहरुलाई सडक क्रस गर्न कठिन हुने गरेको छ,’ रेग्मीले भने ।

चावहिल क्षेत्रमा घनाबस्तिका साथै बौद्ध–जोरपाटी जाने ट्रान्जिट प्वाइन्ट हो । सो स्थानमा गाडीहरुको अधिक चापका कारण बाटो काट्न अधिक समस्या हुने देखिएको रेग्मीको भनाई छ । सो स्थानमा ओभरहेड व्रिज निर्माण गर्न सकिएमा सडक दुर्घटना र ट्राफिक जाम केहि हदसम्म न्युनिकरण गर्न सकिने उनको बुझाई छ ।

विष्णुमति शोभा भगवती मार्गमा स्थानीयहरुले सडक दुर्घटना धेरै हुने गरेको गुनासो बारम्बार गर्ने गरेका कारण ओभर हेड व्रिज बनाउनका लागि माटो परिक्षण गरिएको रेग्मीले जानकारी दिए ।

तीनै स्थानमा गरिएको माटो परिक्षणबाट सो स्थानहरुमा ओभरहेड ब्रिज बनाउन उपयुक्त देखिएको महानगरको ठहर छ ।


क्लिकमान्डु