मध्यपुर काँग्रेसद्वारा मोटरसाइकल र्याली प्रदर्शन



भक्तपुर। स्थानीय तहको निर्वाचनमा मध्यपुर थिमि नगरपालिकाका सबै नागरिकलाई निर्वाचनमा सहभागीताका लागि आग्रह गर्न आज यहाँ  मोटरसाइकल र्याली आयोजना गरियो ।

स्थानीय लोकन्थलीका युवा समूहले आयोजना गरेको सो र्याली लोकन्थलीबाट दिब्यश्वरी, सानोठिमी, धुन्चेपाखा, बोडे, नगदेश, बाखाहा बजार, मिलरोड, नगरपालिका सडक, दुई पोखरी, बालकुमारी, चपाचो, मध्यपुरथिमि शङ्खधर चोक, गठ्ठाघर, कौशल्टार हुँदै पुनः लोकन्थली आएर समापन भएको थियो ।

र्यालीमा मध्यपुरथिमि नगरपालिकाका करिब १६ सय मोटरसाइकल तथा २००० भन्दा बढी काँग्रेसका युवा कार्यकर्ता सहभागी थिए ।

नेपाली काँग्रेस मध्यपुरथिमि नगरसमितिका पूर्व सभापति एवम् मध्यपुर थिमि नगरपालिकाका प्रमुखका दाबेदार अष्टकुमार कवेँले सो र्यालीको शुभारम्भ गरेका थिए  ।

निर्वाचन निष्पक्ष र शान्तिपूर्ण रुपमा सम्पन्न गर्न सबै दल एवम् सरोकारवाला निकायले ध्यान दिनुपर्छ भन्दै उनले यस नगरपालिकाको समग्र विकासका लागि नेपाली काँग्रेसले निर्वाचनमा विजय हासिल गर्नुपर्नेमा जोड दिए ।


क्लिकमान्डु