नेप्से घट्यो, कसले कमाए ? कसले गुमाए ?



काठमाडौं । बुधबार नेप्से २.०८ अंकले घटेर १६७०.३० मा अडेको छ । कारोबारको शुरुमा केही अंक बढ्ने प्रयास गरे पनि सो बढोत्तरी नेप्सेले थेग्न सकेन ।

कारोबार रकम पनि ९५ करोड ५१ लाखमा खुम्चिएको छ । बिगत केही हप्ता देखि नेप्सेमा निरन्तर अर्ब माथिको कारोबार हुँदै आएको थियो । हिजो पनि नेप्सेमा १ अर्ब १३ करोड रुपैंयाँको कारोबार भएको थियो ।

लगानीकर्ता अहिले पर्ख र हेर को मनस्थितिमा रहको बुझिन्छ । पछिल्लो समय बढ्दै गरेको नेप्सेको गतिलाई रोक्ने दुई प्रमुख कारण राजनीति र बाफियामा लगानीकर्ता ढुक्क हुन सकेका छैनन् ।

सबैको सहभागीतामा चुनाव हुने कुरामा प्रमुख प्रतिपक्षको बिरोधका कारण केही जटिलता देखापरेका छन् । यस्तै बाफिया पारित भएपछि ठूलो संख्यामा संस्थापक सेयर साधारण सेयरमा परिणत भई बजारमा आउँदा बजार निकै तल झर्न सक्ने आंकलन लगानीकर्ताले गरेका छन् । यस सम्बन्धमा राष्ट्र बैंक लगायत अन्य निकायले लगानीकर्तालाई आश्वस्त पार्नुपर्ने देखिएको छ ।

यी दुई कारणका अलावा अन्य काराण भने बजारकै पक्षमा छन् । झण्डै २४ बर्ष पछि आर्थिक बृद्धिदर ७ प्रतिशत हुने भएको छ । नेप्सेमा सूचिकृत कम्पनीहरुको पनि तेस्रो त्रैमासमा राम्रो विवरण पस्किएका छन् ।

बुधबार १४५ कम्पनीको १४ लाख ९० हजार २ सय ४८ कित्ता सेयर कारोबार भएको छ । उपसूचकहरुमा बैकिङ ७.९, होटेल १५.८४ र उत्पादन ३०.१ अंकले घटेका छन् । यस्तै, बिकास बैंक १७.३१, जलबिद्युत ९.२७, बित्त ३.८७, बीमा ६.०७ र अन्य २.८९ अंकले बढेका छन् ।

बुधबार सबैभन्दा बढि नेपाल लाइफको ६ करोड ५४ लाख रुपैंयाँको कारोबार भएको छ । यस्तै राष्ट्रिय बीमा कम्पनीको ६ करोड ५३ लाख रुपैंयाँको कारोबार भएको छ । तेस्रो, चौथो र पाँचौ धेरै कारोबार हुनेमा ग्लोबल आइएमइ, एनसिसि र प्रभु बैंक रहेका छन् । उनीहरु सबैको ३ करोड बढीको कारोबार भएको छ ।

बुधबार महिला सहयात्रा, एनएमबि माइक्रोफाइनान्स, रिलायबल माइक्रोफाइनान्स लगायत ११ कम्पनीको सेयर मुल्य १० प्रतिशतले बढेका छन् ।

बुधबार सिर्जना फाइनान्सका लगानीकर्ताले सबैभन्दा बढि ६.६ प्रतिशतले गुमाएका छन् । यसैगरी युनाइटेड फाइनान्स र जेब्लिस फाइनान्सका लगानीकर्ताले पनि ४.१२ र ३.७१ प्रतिशतले गुमाएका छन् ।


पुष्प दुलाल