बजारमा विषालु आँप, किन्दा होसियार बन्नुहोस



वीरगन्ज । रसायन हालेर पकाएको भारतीय आँप वीरगन्जको स्थानीय बजारमा खुलेआम बिक्री हुने गरेकाले उपभोक्ता मन्द विषको सिकार हुन थालेका छन् ।

खासगरी प्राकृतिकरुपमा आँप पाक्ने समय असार महिनाको अन्त्यदेखि साउन/भदौ महिनाको समय भएपनि स्थानीय बजारमा भने वैशाख सुरुदेखि नै आँपले बजार कब्जा गरेको देखिन्छ । बिक्रीका लागि राखिएका यस्ता भारतीय आँपको परीक्षण नहुँदा उपभोक्ता विषाक्त आँप खान बाध्य देखिन्छन् । यसले गर्दा खाद्य बजार विषालु बन्दै गएको छ भने अर्कोतिर उपभोक्ता मन्द विषको सिकार भई विभिन्न रोगबाट प्रभावित भएको देखिन्छ ।

व्यापारीले बढी मुनाफा लिन भारतबाट आउने यस्ता काँचो आँपमा कारवाइड नामक रसायन राखेर २४ घन्टामै पकाएर बिक्रीका लागि राख्ने गर्दछन् ।

खासगरी छिमेकी मुलुक भारतको दिल्ली, चेन्नइबाट सीमावर्ती भारतको रक्सौलका व्यापारीले यस्ता आँप ल्याउने गरेको र ती आँप फुटकर भारतीय व्यापारी साइकलमा राखेर वीरगन्जको बजारमा बिक्री गर्दै आइरहेका छन् ।

पँहेलो, पाकेको, हेर्दा खाउँखाउँजस्तो लाग्ने आँप ठेलामा, साइकलमा राखेर वीरगन्ज बजारमा बिक्री गर्ने भारतीय व्यापारीको सङ्ख्या ५० भन्दा बढी रहेको भन्दै भारत मोतिहारीका दिनेश सहनी भन्छन्, ‘नेपाली सीमा क्षेत्रमा रहेको प्लान्ट क्वारेन्टाइन चेक पोष्ट, भन्सार कर्मचारी र प्रहरीलाई रकम दिएर ती आँप वीरगन्जको बजारमा बिक्रीका लागि ल्याउने गर्दछु ।’

वीरगन्ज भन्सार नाकाबाट दैनिक रु पाँच लाख बराबरको १० क्विन्टल भारतीय आँप व्यापारीले भित्र्याउने गरेको वीरगन्ज भन्सारका एक कर्मचारीको भनाइ रहेको छ ।

वीरगन्जबजारमा छ्याप्ती–छ्याप्तीरुपमा कारवाइड नामक विषादी हालेर पकाएको आँप खान पनि विचार पुर्याउनुपर्ने उपभोक्ता शेषमन पण्डितको भनाइ छ । कारवाइड (कार्बन) नामक रसायन प्रयोग गरी पकाएको आँप खानाले मानव स्वास्थमा प्रतिकूल असर पर्ने, पेट दुख्ने, आँखामा प्रभाव पार्ने, मुटुमा प्रभाव पार्ने, जिब्रो टर्रो हुने, स्वाद नआउने भएकाले यस्ता आँप खान सचेत हुनुपर्ने विचार चिकित्सकको छ ।

भारतबाट आउने रसायन हालेर पकाएको यस्ता आँप अहिले वीरगन्ज बजारमा प्रतिकिलो २ सयदेखि दुई सयसम्ममा बिक्री हुने गरेको छ । रासस


क्लिकमान्डु