१० वर्षमा २७ हजार मेगावाट बिजुली बेच्ने एमालेको घोषणा (घोषणापत्रको पूर्णपाठ)



मत हालौं साथी हो, एमालेलाई जिताउन ।
जनतालाई जगाएर, देश घातीलाई भगाउन ।

यस्तो राजनीतिक नाराका साथ नेकपा एमालेले स्थानीय नियकाका लागि पार्टीको चुनावी घोषणापत्र सार्वजानिक गर्दैछ । आइतबार दिउसो ३ बजे घोषणापत्र सार्वजानिक गर्ने भनिएको कार्यक्रम विषेश कारण देखाउँदै स्थगन गरिएको छ । अध्यक्ष केपी ओलीले सोमबार बिहानका ९ बजे घोषणापत्र सार्वजानिक गरिने एमाले सचिव योगेश भट्टराईले क्लिकमाण्डूलाई जानकारी दिए ।

चुनावी घोषणापत्रमा एमालेले निकै नै महत्वकांक्षी र पपुलिष्ट एजेण्डाहरु समेटेको छ । ४१ पृष्ठ लामो घोषणापत्रमा जनतालाई हजारौं सपनाहरु देखाइएको छ ।

आगामी १० वर्षमा ५७ हजार मेगावाट बिजुली उत्पादन गर्ने र त्यसको आधा अर्थात् करिब २८ हजार मेगावाट बिजुली विदेशीलाई बेच्चे एमालेको घोषणपत्रमा उल्लेख छ ।

जबकी अहिलेसम्म नेपालमा कूल ९ सय मेगावाट बिजुली मात्रै उत्पादन हुँदै आएको छ ।

विद्युत् उर्जा विना मानव जातिको गतिशीलता नै अवरुद्ध हुने भन्दै एमालेले सरकारले विद्युत् ऊर्जा विकासमा राष्ट्रको मुख्य साधन र श्रोत लगाउने प्रतिवद्धता जनाएको छ ।

‘राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रका सम्भव श्रोत र साधन परिचालित गरी आगामी १० वर्षमा नदी प्रवाह प्रणालीबाट १० हजार, जलाशययुक्त परियोजनाबाट २५ हजार, जैविक उर्जाबाट करिव १० हजार, हाइड्रोजन उर्जाबाट करिव १० हजार र सौर्य ऊर्र्जाबाट करिव २ हजार गरी जम्मा करिव ५७ हजार मेगावाट विद्युत् उत्पादन गरिने छ,’ घोषणापत्रमा उल्लेख छ ।

यसका लागि अध्ययन भएका सबै ठूला जलाशययुक्त परियोजनाहरु सम्पन्न गरिने र कर्णाली चिसापानी वहुउद्देश्यीय परियोजना, कोशी नदीमा अध्ययन गरिएका बहुृउद्देशीय परियोजना, तमोर जलाशय परियोजना तथा पश्चिम सेती, नलसिङगाड, नौमुरे र बुढिगण्डकी परियोजनाहरु आगामी १० वर्षत्रि सम्पन्न गरिसक्ने एमालेले जनाएको छ ।

त्यसवेलासम्म पनि गरिबीको रेखामुनि रहेका परिवारलाई आवश्यक पर्ने सम्पूर्ण विद्युत् निःशुल्क उपलब्ध गराइने घोषणापत्रमा उल्लेख छ । साथै विद्युत् उर्जाबाट सम्पूर्ण पेट्रोलीयम उर्जा प्रतिस्थापित गरिने एमालेको लक्ष्य छ ।

घोषणापत्र अनुसार उर्जा उत्पानमा राष्ट्रिय पुँजी परिचालनलाई प्राथमिकता दिइने छ र प्रत्येक नेपालीको लगानी सुनिश्चित गर्दै प्रतिफलको प्रत्याभूति गरिने छ । लगानी र प्रतिफलका दृष्टिले आकर्षक जलविद्युत परियोजनाहरुमा जनता र सरकारको संयुक्त लगानी प्रवद्र्धन गरिने छ । त्यस्ता आयोजनाहरुमा स्वदेश र प्रवासमा रहेका नेपाली नागरिक तथा गैरआवासीय नेपालीहरुलाई ४९ प्रतिशतसम्म शेयर खरिद गर्न पाउने व्यवस्था गरिनेछ ।

१० वर्षमा नेपालीको प्रतिव्यक्ति आय १० हजार डलर

आफ्नो पार्टीले चुनाब जिते आगामी १० वर्षका नेपालीको प्रतिव्यक्ति आय १० हजार अमेरिकी डलर पुर्याउने एमलेको घोषणापत्रमा उल्लेख छ । अहिले नेपालीहरुको प्रतिव्यक्ति आय ७ सय ५६ अमेरिकी डलर मात्रै छ ।

१० वर्षमा १० हजार अमेरिकी डलर प्रतिव्यक्ति आय पुर्याउन देशको कुल ग्राहस्थ उत्पादको वृद्धिदर वार्षिकरुपमा ५० प्रतिशतभन्दा बढी हुनुपर्ने अर्थशास्त्रीहरु बताउँछन् । गत वर्ष नेपाल एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारका पालामा नेपालको आर्थिक वृद्धिदर ३ प्रतिशत मात्रै भएको थियो ।

घोषणापत्रको पूर्णपाठका लागि यहाँ क्लिक गर्नुहोस् ।

देशका सबै भूभागमा तीव्र गतिका रेल

आगामी १० वर्षमा करिव ६ हजार ३ सय कि.मी रेलमार्ग सञ्चालन गरिने घोषणापत्रमा उल्लेख छ । पूर्व-पश्चिम राजमार्गको समानान्तर करिव १ हजार किलोमिटर तीव्र गतिको अत्याधुनिक रेल सञ्चालन गर्ने घोषणापत्रमा उल्लेख छ । त्यस्तै, मध्यपहाडी पुष्पलाल राजमार्गको समानान्तर करिव १३ सय किलोमिटर तीव्र गतिको अत्याधुनिक रेल सञ्चालन गरिने छ । निर्माण गरिने औद्योगीक करिडोर राजमार्गको समानान्तर करिव १३ सय किलोमिटर तीव्र गतिको अत्याधुनिक रेल संचालन गरिने छ ।

नेपाल–चीन सीमानादेखि, नेपाल-भारत सीमानासम्मका ६ स्थानहरु किमाथान्का–विराटनगर, लामावगर-जनकपुर, रसुवागढी–काठमाण्डौ–वीरगंज, कोरला–पोखरा–भैरहवा, हिल्सा–जुम्ला–नेपालगंज र ताक्लाकोट–धनगढीसम्म तीव्र गतिका अत्याधुनिक रेलहरु सञ्चालन गरिने छ । राजधानीमा भित्री चक्रपथको समानान्तर करिव २५ किलोमिटर अत्याधुनिक मेट्रो रेल सञ्चालन गरिने छ । त्यसै गरी बाहिरी चक्रपथमा मेट्रो रेल सञ्चालन गरिने छ । भविष्यमा राजधानी विस्तारित हुने क्षेत्रलाई समेटेर बनाइने कुलेखानी, दामन, बैरेनी, बिदुर, हेलम्बु, दोलालघाट, पाँचखाल, भकुण्डेबेसी, पनौति, लेले, फर्पिङ र पुनः कुलेखानी जोडीने गरी तीव्र गतिको अत्याधुनिक रेल सञ्चालन गरिने छ । बैरेनी, नौविसे, नागढुङ्गा, कंलकी, कोटेश्वर बनेपा, पाँचखाल र दोलालघाटसम्म, उत्तर बिदुरदेखि काठमाण्डौंहुदैं दक्षिण लेलेसम्म, दक्षिण भीमफेदीदेखि काठमाण्डौसम्म, चितवनको शक्तिखोरदेखि बैरेनीसम्म तीब्रगतिका अत्याधुनिक रेल सञ्चालन गरिने छ ।

सबै महासागरमा नेपाली ध्वजावाहक पानी जहाज

नेपालमा जलमार्ग विकासको धेरै पहिलेदेखि सम्भाव्यता अध्ययन हुँदै आएको छ । तर ठोस निष्कर्षमा आज अगाडि कोही पुग्न सकेन्न् । अव भने नेकपा (एमाले) संभाव्यता अध्ययनमा मात्र सिमीत रहेको अवस्थालाई अन्त्य गर्दै साचिकै नेपाल नदी र महासागरहरुमा नेपाली ध्वजावाहक पानी जहाज चलाउन जलमार्ग विकास गर्ने ठोस निष्कर्षमा पुगेको छ ।

भूपरिवेष्ठित देश भए पनि नेपालबाट बग्ने कोसी, गण्डकी र कर्णाली लगायत नदीहरुलाई प्रयोग गर्दै जलमार्गबाट अन्तर्राष्ट्रिय सम्बन्ध विकास गर्ने सम्भावना छ । आन्तरिक जलमार्गमा यिनको प्रयोगको प्रशस्त संभावना छ । नेकपा (एमाले) को सरकारले आगामी १० वर्षमा सम्पन्न हुने गरी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जलमार्गको विकास गरी हिन्द महासगर लगायत सबै महासागरहरुमा नेपाली ध्वजावाहक पानी जहाजहरु सञ्चालन गर्नेछ । कोशी–गङ्गा र बङ्गालको खाडीसम्म पुग्ने गरी आफ्नै राष्ट्रिय ध्वजाबाहक पानीजहाज सञ्चालन गर्न संभाव्यता अध्ययन गरी कार्यान्वयन गर्न नेपाल सरकारले भारत, चीन र बङ्गलादेश सरकारसंग सम्झौता गर्नेछ । सम्झौतापछि भारत, बङ्गलादेश र चिनका बन्दरगाहबाट संसारभरी रहेका नेपालका मित्र देशहरुसँग बहुआयामिक अन्तर्राष्ट्रिय व्यापार सञ्चालन गरिने छ । कोसी, नारायणी र कर्णाली नदीहरुमा आन्तरिक जलमार्ग विकास गरिने छ । कर्णाली–चिसापानी र कोशी उच्चबाँध लगायत देशका अन्य भागमा निर्माण गरिने उच्च बाँध जलाशयहरुमा स्थानीय यातायात तथा पर्यटकीय सेवाका लागि जलमार्ग विकास गरिने छ ।

देशैभर उच्च स्तरको सडक

एमालेको सरकारले आगामी ५वर्षभित्र सम्पन्न हुने गरी उच्चस्तरको प्रविधि प्रयोग गरेर सबै राजमार्गहरुको विस्तार तथा स्तरोन्नत गर्ने कामलाई उच्च महत्वका साथ बढाउने घोषणापत्रमा उल्लेख छ । १३ सय किमि लामो तराईको हुलाकी राजमार्गलाई ४ लेनको रुपमा स्तरोन्नत गरिने छ । त्यसैगरी पूर्व-पश्चिम राजमार्गलाई ८ लेनमा स्तरोन्नत गरिने छ । इलामदेखि भित्रि तराई तथा उपत्यका हुँदै जाने डडेल्धुरासम्मको करिव १३ सय कि.मी. औद्योगिक करिडोर राजमार्ग नयाँ निर्माण गरिने छ । यही करिडोरमा अधिकांश नयाँ उद्योग कलकारखानाहरु सञ्चालित हुनेछन् । करिव १३ सय कि.मी. हुने गरी मध्यपहाडी पुष्पलाल राजमार्गलाई ४/६ लेनमा स्तरोन्नत गरी यसै अवधिमा सम्पन्न गरिने छ ।

यसै अवधिमा आज अगाडि अध्ययन भएका, विस्तृत परियोजना प्रतिवेदन तयार भएका तथा निर्माणाधिन रहेका उत्तर-दक्षिण राजमार्गहरुलाई ४/६ लेनका रुपमा निर्माण तथा स्तरोन्नत गरीसम्पन्न गरिने छ । तराईका सबै जिल्लाहरुमा पूर्व-पश्चिम राजमार्गदेखि नेपाल-भारत सीमानासम्म प्रति जिल्ला ३ वटाका दरले ६ लेनका सहायक राजमार्ग निर्माण गरिने छ । त्यसै गरी हिमाली जिल्लाहरुका सदरमुकामदेखि नेपाल-चीन सीमानासम्म ४ लेनका सहायक राजमार्ग निर्माण तथा स्तरोन्नत गरिने छ । बाँकी जिल्ला सदरमुकामहरुमा पूर्व-पश्चिम राजमार्ग र मध्य पहाडी पुष्पलाल राजमार्गबाट ४ लेनका सहायक राजमार्गहरु निर्माण तथा स्तरोन्नत गरिने छ । सबै प्रादेशिक सडकहरुलाई ४ लेनका राजमार्गका रुपमा स्तरोन्नत गरिने छ । यी बाहेक सडक विभाग र स्थानीय निकायले निर्माण गरेका ८१ हजार कि.मी. का सबै सडकहरुलाई न्यूनतम २ लेनका रुपमा निर्माण, स्तरोन्नत, मर्मत संभार गरी कृषि सडकका रुपमा विकास गरिने छ । यसै अवधिमा निर्माण भई रहेका ७४४ स्थानीय तहहरुमा सरदर ४० कि.मीका दरले न्यूनतम ४ लेनका २९ हजार ७ सय ६० कि.मी. चक्रपथहरु निर्माण गरिने छ । यसरी आगामी १० वर्षमा करिव डेढ लाख कि.मी सडक निर्माण तथा स्तरोन्नत गरी राष्ट्रव्यापी संजाल स्थापित गरिने छ ।

५० वटा वाइडबडी बिमान थप्ने

आगामी १० वर्षभित्रै नेपाली ध्वजावाहक विमानहरुको संख्या बढाएर अन्तर्राष्ट्रिय उडानका लागि ठूला वाइडबडी ५० र साना ५० वटा हवाइजहाज पुर्याउने घोषणापत्रमा उल्लेख छ । एमाले सरकारले आगामी १० वर्षमा दैनिक ५ लाख यात्रीहरु आवतजावत गर्ने गरी हवाइ यातायात सेवाको संरचना विकास गर्नेछ । प्रत्येक जिल्लालाई हवाइ सेवाबाट जोड्ने गरी विमानस्थल निर्माण गरिनेछ ।

आगामी १० वर्षभित्र दैनिक लाखौं पर्यटकहरुलाई भित्र्याउने गरी नेपालका अन्तर्राष्ट्रिय र आन्तरिक विमानस्थलहरुको अत्याधुनिक प्रविधिसहित निर्माण तथा स्तरोन्नत गरिने छ ।

देशै भरी केवलकार

एमाले सरकारले आगामी ५ वर्षमा सम्पन्न हुने गरी पर्यटक सेवाका लागि विभिन्न महत्वपूर्ण स्थानमा केवलकार सञ्चालन गर्नेछ । प्राथमिकताका आधारमा पहिले भिङ्ग्री-स्वर्गद्वारी, बुढानिलकण्ठ-शिवपुरी, गोदावरी-फुलचोकी, बालाजु-नागार्जुन, वाह्रवीसे-कालिञ्चोक, फुङलिङ-पाथिभरा, बिरेठाँटी-रानीपौवा, पोखरा-जोमसोम-मुक्तिनाथ, साँफेवगर-रामारोशन, मार्तडी-बडिमालिका, तमघास-रेसुङ्गा, दिपायल-खप्तड र पाँचखाल-पलाञ्चोकमा केवलकार सञ्चालन गरिने छ । त्यसैगरी, राजमार्गका विभिन्न स्थानबाट उच्च पहाडी पर्यटन स्थलहरूमा आवश्यकता अनुसार केवलकार सञ्चालन गरिने छ । काठमाडौं उपत्यकामा सार्वजनिक यातायातको वैकल्पिक मार्गका रुपमा केबलकार सञ्चालन गरिने छ । हिमाली क्षेत्रमा ट्रेकिङ रुटका समानान्तर केबल कार संचालन गरिनेछ ।


पुष्प दुलाल