प्रमुख निर्वाचन आयुक्तले भने- निर्वाचनबारे द्विविधा नराख्नुहोस्



काठमाडौं । प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले स्थानीय तहको निर्वाचनका विषयमा अब कुनै द्विविधा नराख्न आग्रह गरेका छन् ।

निर्वाचन अनुगमनसम्बन्धी अभिमुखीकरण तथा अन्तक्र्रियामा प्रमुख निर्वाचन आयुक्त डा यादवले लोकतन्त्रका लागि निर्वाचन आधारभूत शर्त भएकाले स्वच्छ र निष्पक्ष निर्वाचन गर्न सबैको भूमिका अहम् हुने बताए।

निर्वाचन आचारसंहिता विपरीत हुने सबैखाले कार्य नियन्त्रण गर्न निर्देशन दिँदै उनले कुनै दल वा उम्मेदवारका पक्षपोषण नगरी तटस्थ भूमिकामा रहन अनुगमनकर्तालाई सुझाव दिए ।

प्रमुख आयुक्त डा यादवले स्थानीय तहको पहिलो चरणको निर्वाचनको मनोनयन मङगलबार हुने निश्चित भइसकेकाले अनुगमनकर्तालाई ढुक्क भएर आ–आफ्नो कार्य क्षेत्रमा जान निर्देशन दिए ।

अनुगमन अधिकृतलाई प्रविधिको प्रयोग गर्दा होसियारी अपनाउन आग्रह गर्दै उनले जसरी भए पनि चुनाव जित्नुपर्छ भन्ने मनोविज्ञानलाई प्रोत्साहन गर्न नहुने बताए।

निर्वाचन आयुक्त ईश्वरीप्रसाद पौडेलले राज्यका अन्य संयन्त्रको जस्तो कमजोर रुपमा नभई तटस्थ रहेर वस्तुपरक ढङ्गले अनुगमनको जिम्मेवारी बहन गर्न निर्देशन दिए ।

आयोगका सचिव गोपीनाथ मैनालीले अनुगमनकर्ताले राजनीतिक दलको प्रचारप्रसार, आमसञ्चार माध्यमले दिएका सामग्री,पर्यवेक्षकको कार्य र निर्वाचनमा संलग्न हुने कर्मचारीको अनुगमन गरी आयोगमा प्रतिवेदन दिने हुँदा  सोहीअनुसारको भूमिका निर्वाह गर्नुपर्ने बताए।

सहसचिव दीपक सुवेदीले मतदाताले कस्तो अवस्थामा मतदान गरे,उम्मेदवारले उम्मेदवारी दिँदाको वातावरण र निर्वाचनमा समग्र सुरक्षाको नियमित प्रतिवेदन दिन सुझाव दिए ।

आयोगले पहिलो चरणको निर्वाचन हुने ३४ जिल्लामा २८ जना सहसचिवलाई निर्वाचन अनुगमनका लागि खटाइएको हो ।

उनलाई वैशाख २० गतेदेखि आगामी जेठ ३ गतेसम्मका लागि स्थानीय तहको निर्वाचनको अनुगमनको जिम्मेवारी तोकिएको छ ।

अनुगमनकर्ताले निर्वाचन प्रचारप्रसार प्रचलित कानुनबमोजिम भए नभएको, पर्यवेक्षकले आचारसंहिताको पालना गरे नगरेको, निर्वाचनसम्बन्धी काम कारबाही स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयमुक्त वातावरणमा भए नभएकोबारे अनुगमन गर्नेछ ।

राजनीतिक दल तथा उम्मेदवारले सहजरूपमा प्रचारप्रसार गर्न पाए नपाएको, मतदानको दिन मतदान केन्द्रमा कसैले कुनै किसिमको डर, धाक वा त्रास देखाई वा अन्य किसिमले अनुचित प्रभाव पारी मतदानको निष्पक्षता र स्वतन्त्रतामा असर पु¥याउने कार्य गरे नगरेको विषयमा प्रतिवेदन पेस गर्ने जिम्मेवारी पनि उनीहरुको हुनेछ ।

अनुगमन टोलीले आफू खटिएको मुकामबाट नियमित रूपमा गर्नुपर्ने प्रतिवेदन फ्याक्स वा इमेलमार्फत पठाउनुपर्नेछ । वैशाख ३१ गते पहिलो चरणमा प्रदेश नम्बर ३,४ र ६ मा निर्वाचन हुँदैछ ।


क्लिकमान्डु