आरोहीहरु सगरमाथा चुचुरोमा पुग्दै, ३७० भन्दा बढीलार्इ आरोहण अनुमति



काठमाडौँ । वसन्त ऋतुको यस मौसममा स्वदेशी तथा विदेशी साहसी आरोही सगरमाथाको चुचुरो चुम्न सफल भएका छन् ।

सोमबार १४ आरोहीले सफल आरोहण गरेसँगै सर्वोच्च शिखर आरोहणको सन्देश विश्व पर्यटन बजारमा छाएको छ । यस वर्षको वसन्त ऋतुको आरोहण सोमबारदेखि सुरु भएको हो । दुई दिनअघि सगरमाथाको मौसम प्रतिकूल रहे पनि सोमबारदेखि अनुकूल भएपछि आरोही चुचुरातर्फ लागेका हुन् ।

पहिलो आरोहण गर्ने समूहमा ११ शेर्पासहित तीन बेलाती गोर्खा सैनिक रहेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सम्पर्क अधिकृत कुमारज्ञानेन्द्र श्रेष्ठले जानकारी दिए। सङ्खुवासभाकी ४४ वर्षीया लाक्पा शेर्पाले तिब्बती मोहडाबाट सगरमाथाको पहिलो आरोहण गरेकी हुन् । उनीसँगै आरोहण गर्नेमा पेम्बाछिरिङ शेर्पा, पेमाछिरी शेर्पा, कान्छुनुरु शेर्पा, लाक्पागेलु शेर्पा, सोनामजाङ्बो शेर्पा, पासाङ शेर्पा, छिमीलेन्दुक गुरुङ, डेन्डी शेर्पा, तासी शेर्पा र  ज्याङ्बो भोटे छन् । त्यसैगरी बेलायती गोर्खाबाट आरोहण दलका सदस्य कृष्ण थापा, निर्मल पुर्जा र धनी राई रहेको पर्यटन विभागले जनाएको छ । आज पनि आधारशिविर ४ मा रहेका धेरै आरोही चुचुरामा जाने तयारीमा छन् ।

विभागको पर्वतारोहण शाखाका अनुसार यस वर्ष सगरमाथा आरोहणका लागि ४२ आरोहण दलबाट ३७० भन्दा बढीले आरोहण अनुमति लिएका छन् । विभागका महानिर्देशक विष्णु भट्टराईले सगरमाथाको सफल आरोहणले विश्वमा सकारात्मक सन्देश प्रवाह  भएको बताए । नेपालको पर्यटन सुरक्षित रहेको सन्देश विश्व बजारमा प्रवद्र्धन भई विदेशी पर्यटक आकर्षणका लागि सगरमाथा आरोहणले थप उत्साह थप्ने उनको भनाइ छ ।

अघिल्लो वर्षको तुलनामा यस वर्ष धेरै आरोही हिमाल आरोहणमा गएका छन् । सन् २०१४ मा सगरमाथामा गएको हिमपहिरो र सन् २०१५ को भूकम्पका कारण सगरमाथाको आरोहण रोकिएको थियो । सो आरोहणका लागि अनुमति लिएकाहरुलाई सरकारले दुई वर्षसम्म अर्थात् सन् २०१७ सम्म आरोहण अवधिको अनुमति दिएपछि  यस वर्ष धेरै आरोही आएका  हुन् ।

अघिल्लो वर्षको वसन्त ऋतुको आरोहण गत वैशाख २९ गतेदेखि सुरु भएको थियो । एकै दिन दुई सयभन्दा बढी आरोही चुचुरामा पुगेका थिए । एघार दिनसम्म चलेको सगरमाथा आरोहणमा ४००भन्दा  बढीले सफल आरोहण गरेका थिए । अघिल्लो वर्ष ३४ समूह सगरमाथा आरोहणमा गएका थिए । उक्त मौसममा सगरमाथासहितको हिमाल आरोहणका लागि ९७ समूहका एक हजार ४६२ आरोही गएका थिए ।

नेपाल पर्वतारोहण सङ्घका अध्यक्ष आङछिरिङ शेर्पाले यस मौसमको आरोहण सफलताले विश्वका पर्वतारोही तथा हिमालको देश नेपाललाई माया गर्ने नागरिकमा सकारात्मक सन्देश पुगेको बताए।

उनका अनुसार हिमपहिरो र भूकम्पका कारण आरोहण रोकिएका आरोहीलाई सन् २०१७ सम्म दिइएको अनुमतिले आरोहीको उपस्थिति बढेको हो  । भारत र चीनबाट पनि यस याममा धेरै आरोही आएकाले सगरमाथा आरोहणका लागि अनुमति लिने हालसम्मकै सबैभन्दा बढी भएको अध्यक्ष शेर्पाले बताए।

सरकारले पाँच हजार मिभन्दा अग्ला ४०० भन्दा बढी हिमाल आरोहणका लागि खुला गरेको छ । यस वर्ष सगरमाथाबाहेक ल्होत्से हिमालका लागि ११ दलका १११ जनाले अनुमति लिएका छन् । त्यसैगरी नुब्चेमा तीन दलका २४, अन्नपूर्णमा १४, धौलागिरिमा ७७, कञ्चनजङ्घामा सात, कञ्चनजङ्घा दक्षिणमा चार, मकालुमा ४३ र मनास्लु आरोहणका लागि छ जनाले अनुमति लिएका छन् ।


क्लिकमान्डु