मुलुकको विकासको लागि ठूला प्रकारका तथ्यांकहरु विकास गर्न आवश्यक




काठमाडौं । नेपालले निर्धारण गरेको सहस्राब्दी लक्ष्यमा पुग्न ठूला प्रकारका तथ्यांक (डाटा) हरुको आवश्यकता पर्ने सरोकारबालाहरुले औंल्याएका छन् ।

बिग डाटा फर बिग इम्प्याक्ट नारासहित मनाईएको विश्व दूरसंचार तथा इन्टरनेट समाज दिवसको अवसर पारेर आज काठमाडौंमा आयोजित एक कार्यक्रममा नेपालको विकासको गतिलाई अगाडि बढाउन ठूला तथ्यांकको विश्लेषण गर्ने क्षमताको विकास गरिनुपर्ने उनीहरुले बताएका हुन् ।

कार्यक्रममा नेपाल दूरसंचार प्राधिकरणका अध्यक्ष दिगम्बर झाले मुलुकभर अप्टिकल फाइबर बिछ्याउन लागिएको जानकारी दिँदै हरेक स्थानमा ब्रोडब्याण्ड पुर्याएपछि मात्र बिग डाटाको विकास गर्न सकिने बताए ।

‘हामी मध्य पहाडी लोकमार्ग हुँदै देशैभर अप्टिकल फाइबर बिछ्याउँदैछौं, पूर्वको पाँचथरदेखि पश्चिमको रुकुमसम्म करिब १७ सय किलोमिटरमा ३ चरणमा संजाल बनाउँदैछौं,’ अध्यक्ष झाले भने ।

सन् २०२० सम्ममा हरेक क्षेत्रमा ९८ प्रतिशत ब्रोडब्याण्ड पुर्याउने गरी काम भइरहेको उनको भनाइ छ ।

प्राधिकरण अध्यक्ष झाले मुलुकमा साइबर क्राइमको समस्या आउने संभावनालाई ध्यानमा राखेर साइबर कानूनको खाका तयार पारिरहेको जानकारी पनि दिए ।

सूचना तथा संचार मन्त्रालयका निमित्त सचिव किशोरजंग कार्कीले विश्वभर २.५ ट्रिलियन डाटा उत्पन्न हुने गरेको भन्दै यस्तो डाटालाई विकासको रुपमा परिवर्तन गर्न सक्नुपर्ने बताए । मुलुकको विकासको लक्ष्य हासिल गर्न ठूला प्रकारका डाटालाई उपयोग गर्नुपर्ने उनको भनाई थियो ।

त्यसैगरी आईटिई नेपाल च्याप्टरका अध्यक्ष महेश प्रसाद अधिकारीले नेपाल जस्तो विकासोन्मुख मुलुकलाई अझ अगाडि बढाउन ठूला प्रकारका डाटाहरुको विश्लेषण र आवश्यकता पर्ने बताए ।

कार्यक्रममा विज्ञहरुले विभिन्न किसिमका ठूला प्रकारका डाटाहरुको अवस्था र विश्लेषणको बारेमा प्रस्तुती गरेका थिए ।

मे १७ लाई संसारभर विश्व दूरसंचार दिवसको रुपमा मनाउने गरिन्छ । विश्व दूरसंचार यूनियनमा नेपालले ६० वर्षअघि सदस्यता लिएको थियो ।


क्लिकमान्डु