सिम टिभी संचालन गर्ने कम्पनीसहित तीनवटा आइएसपीको लाइसेन्स खारेजी प्रकृयामा




काठमाडौं । नेपाल दूरसंचार प्राधिकरणले तीनवटा इन्टरनेट सेवा प्रदायक कम्पनी (आइएसपी) को अनुमतिपत्र खारेज गर्ने चेतावनी दिएको छ ।

शर्त बमोजिम सेवा संचालन नगरेको र बित्तीय विवरण समेत नबुझाएको भन्दै प्राधिकरणले अनुमतिपत्र खारेजी गर्ने चेतावनी दिएको हो ।

प्राधिकरणले सार्बजनिक सुचना प्रकाशित गर्दै मेगा ब्रोडकास्ट प्रालि, इस्टर्न नेटवर्कस प्रालि र सिम्पल मिडिया नेटवर्क प्रालिले अनुमतिपत्रको शर्त बमोजिम सेवा संचालन नगरेको भन्दै १५ दिनभित्र सेवा संचालन गरेको जानकारी गराउन निर्देशन दिएको छ ।

यसअघि पनि पटक पटक सूचना जारी गरेको भन्दै प्राधिकरणले नयाँ सूचनाको आधारमा कम्पनीहरुले अनुमतिपत्रको शर्त बमोजिम नियमानुसार सेवा संचालन गरी प्राधिकरणलाई जानकारी गराउन निर्देश गरेको छ ।

त्यसैगरी आर्थिक वर्ष २०७२/०७३ को बित्तीय बिवरण समेत प्राधिकरणमा पेश गर्न मौका प्रदान गरिएको सूचनामा उल्लेख छ ।

सार्वजनिक गरिएको सूचनाअनुसार सेवा तत्काल संचालन गर्न भनिएको छ । तत्काल सेवा संचालन गर्न नसके अनुमतिपत्र खारेजीको प्रकृया अगाडि बढाईने प्राधिकरणको चेतावनी छ ।

प्राधिकरण स्रोतले भने तीन वटै कम्पनीहरुले प्राधिकरणले दिएको अनुमतिपत्रअनुसार सेवा संचालन नगरेको र हालको अवस्थाको बारेमा जानकारी पनि नदिएको हुँदा खारेज नै गर्ने तयारी भएको जानकारी दिएको छ ।

सुचनाअनुसार मेगा ब्रोडकास्ट प्रालि, इस्टर्न नेटवर्कस प्रालि र सिम्पल मिडिया नेटवर्क प्रालिले इन्टरनेट (इमेलसहित) सेवाको अनुमति प्राप्त गरेका छन् ।

तीन वटा कम्पनीमध्ये मेगा ब्रोडकास्टले अघिल्लो वर्षको माघ महिनासम्म १,३७० वटा डायलअप सेवा प्रदान गरेको छ भने इस्टर्न नेटवर्कसले २०६ वटा केबल इन्टरनेट सेवा प्रदान गरिरहेको छ । अर्को कम्पनी सिम्पल मिडियाले भने अहिलेसम्म इन्टरनेट इमेल सेवा दिएको छैन् । सिम्पल मिडियाले सिम टिभीको ब्राण्डमा हाल डिजिटल टेलिभिजन सेवा प्रदान गरिरहेको छ ।


क्लिकमान्डु