बाह्र दिनदेखि मोबाइल सेवा अवरुद्ध



बैतडी। नेपाल टेलिकमको बैतडीमा रहेका दुईवटा टावरमा चट्याङले क्षति पुर्याउँदा १२ दिनदेखि मोबाइल सेवा अवरुद्ध भएको छ ।

गत वैशाख २५ गते परेको चट्याङले सतबाँझ र सिल्लेकमा रहेको टावरमा क्षति पुर्याउँदा फोन सेवा अवरुद्ध भएको नेपाल टेलिकम बैतडीका प्राविधिक रामजी घिमिरेले बताए । उनले भने, ‘अवरुद्ध फोन सेवा सुचारु गर्नका लागि धनगढीबाट प्राविधिकको टोली आउने भएकाले अझै एक–दुई दिन लाग्छ ।’

मोबाईल सेवा अवरुद्ध हुँदा सुर्नया गाउँपालिका, दोगडाकेदार गाउँपालिका, दशरथचन्द नगरपालिका र पाटन नगरपालिकाको केही क्षेत्रलगायत स्थानीय बासिन्दा सञ्चारविहीन भएका स्थानीयवासी जयराज अवस्थीले जानकारी दिए ।

सतबाँझमा रहेको टावरले काम नगर्दा सुर्नया गाउँपालिकाको शिखरपुर, शङ्करपुर, रौलेश्वर, वासुलिङ्ग, भौनेलीलगायत क्षेत्र, पाटन नगरपालिकाको गुजर, सिद्धेश्वरलगायत ठाउँमा समेत फोनसेवा अवरुद्ध भएको छ भने सिल्लेकमा रहको टावरले काम नगर्दा दोगडाकेदार गाउँपालिकाका स्थानीय बासिन्दा सञ्चारविहीन भएका छन् । फोन सेवा अवरुद्ध हुँदा हजारौँ ग्राहकलाई समस्या हुनाका साथै सञ्चारविहीन भएका  छन् ।


क्लिकमान्डु