काठमाडौं महानगरका जनप्रतिनिधिको कार्यकक्ष सजावटमै १ करोड




काठमाडौं । काठमाडौं महानगरपालिकाले जनप्रतिनिधिको कार्यकक्ष सजावटका लागि करिव १ करोड रुपैयाँ खर्च गर्ने भएको छ । महानगरले मेयर, उपमेयर र ३२ वडा अध्यक्षका कार्यकोठा सजावटका लागि ८४ लाख रुपैयाँ खर्च गर्ने भएको हो ।

महानगरले जनप्रतिनिधिको कार्यकक्ष सजावटका लागि ८४ लाख रुपैयाँ खर्च गर्न लागेको महानगरका जिन्सी शाखा प्रमुख तथा उपनिर्देशक सुमन अधिकारीले जानकारी दिए ।

‘जनप्रतिनिधिका कार्यकक्ष सजावटका लागि ८४ लाख रुपैयाँको टेन्डर स्वीकृत भइसकेको छ, मेयर, उपमेयर र ३२ वटा अध्यक्षका प्रत्येक कार्यकक्षमा एउटा सोफा, ५ वटा टेबल, ५ वटा कुर्सी र कार्पेट राखिने छ,’ अधिकारीले क्लिमाण्डूसँग भने ।

जनप्रतिनिधिका लागि ७ वटा सोफा, १ सय ६० टेबल र कुर्सी आवश्यक पर्ने देखिन्छ ।

महानगरका जनप्रतिनिको कार्यकक्ष सजावटको जिम्मा कुशल इन्टरप्राइजेजले पाएको छ ।

कुशल इन्टरप्राइजेजका प्रोपाइटर तारा ढकालका अनुसार जेठ २० गते भित्रमा जनप्रतिनिका कार्यकक्षका फर्निचरहरु तयार भैसक्ने छ ।

मेयर र उपमेयरलाई हाल माहानगरपालिकाको अस्थायी कार्यालय रहेको जेडी टावरमा र अध्यक्षलाई वडा कार्यालय भवनमा राख्ने व्यवस्था मिलाइएको महानगरका कार्यकारी प्रमुख ईश्वरराज पौडेलले जानकारी दिए ।

अहिले जनप्रतिनिधि बस्ने कोठा छनोट र सरसफाइका काम तीब्र गतिमा भईरहेको पौडेल बताउँछन् ।


क्लिकमान्डु