मुलुककै अग्ला पुल परिसरमा आधुनिक शौचालय निर्माण



पर्वत । व्यवस्थित शौचालयको अभावमा दुर्गन्धित बन्दै गएका मुलुककै दुई अग्ला झोलुङ्गे पुल परिसरमा आधुनिक शौचालय निर्माण सुरु भएको छ ।

पर्वत सदरमुकाम कुश्माबजारस्थित बडागाउँ–कैया झोलुङ्गे पुल वडागाउँ–मुडिकुवा झोलुङ्गे पुलमा आउने आन्तरिक तथा बाह्य पर्यटक र  सर्वसाधारणका लागि सार्वजनिक शौचालय निर्माण सुरु गरिएको हो ।

जिल्ला समन्वय समिति, पर्वतअन्तर्गत पश्चिम नेपाल खानेपानी तथा सरसफाइ परियोजनाको सात लाख २४ हजार ६४६ रुपैयाँको लागतमा सार्वजनिक शौचालय निर्माणको काम सुरु गरिएको इन्जिनियर दिनेश तिमिल्सिनाले जानकारी दिए ।

उक्त आधुनिक शौचालयको ५० प्रतिशतभन्दा बढी निर्माण कार्य सम्पन्न भइसकेको छ । तिमिल्सिनाले भने, ‘जिल्ला विकास समितिको चार लाख ५० हजार रुपैयाँ र बाँकी रकम समितिले नै जुटाएर सर्वसाधारण तथा पर्यटकका लागि सार्वजनिक शौचालय निर्माण गर्न लागिएको हो ।’

कुश्मा नगरपालिकाले आवश्यक रकम दिने प्रतिबद्धता जनाएको भए पनि सम्झौता भने भइसकेको छैन । नगरपालिकाले आर्थिक सहयोग नगरेको अवस्थामा निर्माण समिति आफैँले रकम जुटाएर शौचालय भवन निर्माण कार्य सम्पन्न गर्नुपर्ने छ ।

पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकको गन्तव्यका रुपमा विकास हुँदै गरेका मुलुककै अग्ला पुलमा व्यवस्थिति शौचालय नहुँदा पुल परिसरमा फोहरको डङ्गुर बढ्दै गएको थियो । सोही अवस्थालाई मध्यनजर गर्दै शौचालय, शौचालय सरसफाइ गर्ने कर्मचारीका लागि आवास र अन्य पूर्वाधार निर्माण गरिएको जिल्ला समन्वय समितिले जनाएको छ ।

उक्त पुलमा दैनिक दुईदेखि १० हजारसम्म आन्तरिक तथा बाह्य पर्यटक अवलोकनका लागि आउने गरेका छन् । विद्यार्थीको शैक्षिक भ्रमणको याममा भने २० हजारसम्म पुग्ने गरेको स्थानीय व्यवसायीको भनाइ छ ।


क्लिकमान्डु