नदी र वन क्षेत्रबाट बालुवा, रोडा, ढुङ्गा झिक्ने कार्य बढ्यो



उदयपुर । उदयपुरको त्रियुगा नगरपालिकास्थित बरुवा नदी तथा त्रियुगा नदीको मानवबस्ती क्षेत्र र वन जङ्गल क्षेत्रका अतिसंवेदनशील स्थानबाट अहिले केही ट्र्याक्टर व्यवसायी र केही लोडर सञ्चालकहरूले फेरि अवैध तरिकाले बालुवा, गिट्टी, रोडा र ढुङ्गा झिक्ने कार्य गर्न थालेका छन् ।

विगतमा पनि यी संवेदनशील स्थानबाट ट्र्याक्टर व्यवसायीले मनपरी ढुङ्गा, गिट्टी र रोडा अवैध तरिकाले झिक्ने र बिक्री गर्ने गर्दै आएका थिए ।

प्रहरी, प्रशासनको सक्रियतामा यो कार्य नियन्त्रण भए तापनि अहिले स्थानीय चुनावको मुखमा आएर प्रहरी प्रशासन तथा राजनीतिक दलको ध्यान अन्यत्र गएको मौका पारेर फेरि ट्र्याक्टर व्यवसायीले मनपरी तरिकाले ढुङ्गा,रोडा र गिट्टी निकाल्न थालेको स्थानीय भूपेन्द्र कार्कीले बताए ।

अहिले गाईघाटको बरुवा नदीको पुल क्षेत्र र बरुवा नदीकै माथिल्लो ढिम्कीको अति संवेदनशील मानिएको जङ्गल क्षेत्रबाट गिट्टी रोडा र बालुवा मनपरी ढङ्गबाट अवैध तरिकाले निकाल्ने कार्य थालेको ढिम्कीका स्थानीय तेजबहादुर सार्कीले बताए ।

यता गाईघाट बजारको त्रियुगा नदी किनारमा रहेको त्रियुगा बसपार्क र त्रियुगा पुल क्षेत्र अतिसंवेदनशील क्षेत्र मानिँदै आएको क्षेत्रबाट समेत रात्रिको समयमा ट्र्याक्टर व्यवसायीले मनपरी ढङ्गले गिट्टी, बालुवा र रोडा उत्खनन गरेर बिक्री गर्ने गरेको स्थानीयवासी सुरेन्द्र साह बताउँछन्।

यी संवेदनशील स्थानका नदी क्षेत्रबाट गिट्टी, बालुवा तथा ढुङ्गा र रोडा उत्खनन गर्न नपाइने नियम जिल्ला विकास समिति, त्रियुगा नगरपालिका र प्रहरी प्रशासनले समेत लगाएको छ ।

स्थानीय प्रहरी, प्रशासन र सम्बन्धित निकायको ध्यान अन्यत्र हुन थालेको मौका छापेर ट्र्याक्टर व्यवसायी र केही तस्करले अहिले फेरि नदीका पदार्थजन्य वस्तु अवैध रूपमा उत्खनन गरेर चोरी गर्न थालेको स्थानीयवासीले नै बताउन थालेका छन् ।


क्लिकमान्डु