भक्तपुरका सडकमा बुधबारदेखि साझाका बस गुड्ने



काठमाडौं । बुधबारदेखि साझा यातायातले भक्तपुरमा बस सेवा दिने भएको छ । साझा यातायातले बुधबारदेखि भक्तपुरमा २० वटा बसबाट सेवा दिने भएको हो ।

साझा यातायातका कार्यकारी अधिकृत महेन्द्र पाण्डेले बुधबारदेखि साझा यातायातले भक्तपुरको सुर्यविनायकसम्म बस सेवा संचालन गर्ने जानकारी दिएका हुन् ।

‘बुधबारदेखि साझाका २० वटा बसले भक्तपुरको सुर्यविनायकसम्म सेवा दिने भएको छ, साझाका बस बिहान ६ बजेदेखि रातको ९ बजेसम्म भक्तपुरको सडकमा गुड्ने छन्, पाण्डेले क्लिमाण्डूसँग भने ।

साझा यातायातले भक्तपुरको नयाँ बाटो हुँदै सुर्यविनायकसम्मका लागि रुट इजाजत भएको हो । साझा यातायातले भक्तपुरका दुई प्रमृख सडक नयाँ र पुरानो बाटोका लागि २०७३ फागुन ३० गते रुट इजाजतका लागि निवेदन दिएको थियो ।

यातायात व्यवस्था विभाग साना ठूला सवारी कार्यालय बाग्मतिका प्रमुख बसन्त अधिकारीले यातायात व्यवस्था समितिको शुक्रबार बसेको बैठकले साझाका २० बस संचालनका लागि सुर्यविनायकसम्मको रुट इजाजत दिएको जानकारी दिए ।

अब साझा यातायात बस स्वयम्भु-सीतापाइला-कलंकी-रवीभवन-सोल्टीमोड-कालीमाटी-टेकु-त्रिपुरेश्वर-सहीदगेट-सिंहदरबार-माइतिघर-बबरमहल-नयाँबानेश्वर-मिनभवनहुँदै कोटेश्वरबाट भक्तपुरको सुर्यविनायकसम्म चल्ने छन् ।

साझा यातायातले १० वटा बसहरु जडिबुटीबाट सानोठिमी–पुरानोठिमी–भक्तपुर हुँदै कमलविनायक भएर नयाँ बाटोमार्फत फर्किने र अन्य १० वटा बस जडिबुटीबाट नयाँबाटो सल्लाघारी, सूर्यविनायक–कमलविनायक हँँदै पुरानो बाटो भएर फर्किने बसका लागि रुट इजात माग गरेको अधिकृत पाण्डे बताउँछन् ।

‘विविध कारणले साझा यातायातले मागेको भक्तपुरको दुईतर्फी रुट इजाजत हाल पाउन सकिएन, आगामी दिनमा साझाले मागेको दुईतर्फी रुट इजाजत पाउने अपेक्षा लिएको छु,’ पाण्डेले भने ।

भक्तपुरमा साझाको आगमसँगै भक्तपुर यातायात व्यवसायीहरुको सिन्डिकेट तोडिन पुगेको छ । अघि भक्तपुरका यातायात व्यवसायीले साझाका बस भक्तपूर प्रवेश गरेमा आन्दोलन गर्ने चेतावनी दिएका छन् ।

उनीहरुले अवैज्ञानिक रुपमा भक्तपुरमा साझाले बस हाल्न लागेको भन्दै यातायात विभागमा ज्ञापनपत्र दर्ता समेत गराएका थिए । जसका कारण भक्तपुरमा साझाको बस सेवा विस्तार योजना केहि समयका लागि प्रभावित भएको थियो ।


पुष्प दुलाल