चिरीबाबु जसले महानगरपालिकामा कांग्रेसको इज्जत जोगाए



काठमाडौं । चार महानगरपालिकाको मतगणना जारी रहदा ललितपुर महानगरपालिका शान्त थियो । चर्चाको हिसाबले पनि ललितपुरको चर्चा खासै थिएन । काठमाडौं महानगर देशको राजधानी र भरतपुरमा प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’को छोरी रेणु दाहाल उठेको हुँदा चर्चा बढी छ ।

चार महानगरमा सबैभन्दा छिटो परिणाम ललितपुरको आयो । निकै रोचक प्रतिस्पर्धामा नेपाली कांग्रेसका चिरीबाबु महर्जन नेकपा एमालेका हरिकृष्ण ब्यन्जनकारलाई ३ सय २६ मतले पराजित गर्दै ललितपुर महानगरपालिकाको प्रमुखमा निर्वाचित भए ।

पहिलो चरणमा भएको स्थानीय तह निर्वाचनमा चार महानगरपालिकामा कांग्रेसलाई महानगर बिहिन राख्नबाट चिरीबाबुले जोगाए । अहिले मतगणना जारी रहेको काठमाडौं र पोखरामा कांग्रेस उम्मेद्वार धेरै नै पछाडी छन् । भरतपुरमा कांग्रेसले प्रमुखमा माओवादी केन्द्रका उम्मेदारलाई समर्थन गरेको थियो । यसरी हेर्दा पहिलो चरणमा भएको निर्वाचनमा चिरीबाबु मात्र कांग्रेसको तर्फबाट महानगरको मेयर हुने एक्का व्यक्ति भएका छन् ।

कुनै समय कम्युनिष्टको गण मानिने ललितपुरमा नेपाली कांग्रेसले २०७० सालमा भएको संविधानसभा निर्वाचनमा मात्र तीन सिट जितेर कम्युनिष्टको किल्ला भत्ताएको थियो । यो पटकको निर्वाचनमा ललितपुरका ६ वटा स्थानीय तहको प्रमुखमा तीनवटाको प्रमुख जितेर कांग्रेस पहिलो पार्टी भएको छ । यस्तै एमालेले २ वटा र माओवादी केन्द्रले एक स्थानमा विजयी हासिल गरेका छन् ।

महानगरको प्रमुखमा निर्वाचित कांग्रेसका महर्जनले २४ हजार ६ सय ४२ मत पाएको छ । कांग्रेसका हरिकृष्णले २४ हजार ३ सय १६ मत प्राप्त गरे ।
उपप्रमुखमा पनि कांग्रेसकै गीता सत्यालले साझा पार्टीकी शोभा शाक्यलाई पराजित गरिन् । सत्यालले १९ हजार ८ सय १९ मत ल्याउदा साझाकी १४ हजार २ सय ४० मत ल्याइन् । रविन्द्र मिश्रले खोलेको साझा पार्टीबाट उपप्रमुखमा उम्मेद्वार बनेकी शाक्य कडा टक्कर दिइन् । एमाले समर्थनमा उपप्रमुख बनेका राप्रपाका १० हजार ५ सय ४७ मत प्राप्त गरे ।


क्लिकमान्डु