नियमित विजुलीले उद्योगमा यसरी भयो सुधार



काठमाडौं । उद्योग चलाउने उद्योगीको गुनासोमा तीनवटा कुरा मुख्य रुपमा हुन्थ्यो । पहिलो ऊर्जा समस्या,दोस्रो श्रम समस्या र तेस्रो चन्दा आंतक ।

श्रम समस्या ट्रेड युनियनसँगको सहमतिसँगै मिल्दै गयो । यस्तै चन्दा आंतक पहिलेको जस्तो रहेन । गतवर्षदेखि उद्योगको लागि मुख्य समस्या ऊर्जा संकट नै थियो । केही ठूला उद्योगीले विद्युत् प्राधिकरणका हाकिमसँगको विशेष सम्बन्धको आधारमा २४ घण्टासम्मको लागि विजुली लिएपनि धेरै उद्योगी ऊर्जा संकटबाट पीडित थिए ।

विद्युत् प्राधिकरणमा कुलमान घिसिङ आएपछि काठमाडौं उपत्यकामा लोडसेडिङ हुन छाड्यो यस्तै उद्योगहरुले पनि समानुपातिक ढंगबाट विजुली पाउन थाले । अहिले औद्योगिक क्षेत्रमा दिनको औसतमा चारघण्टा मात्र लोडसेडिङ छ । व्यवसायीहरुले नियमित विद्युत आपूर्तीपछि २० अर्बभन्दा माथी रकम बचत भएको तथ्यांक सार्वजनिक गरेका थिए ।
राष्ट्र बैंकले प्रकाशित गरेको आर्थिक गतिविधीको अध्ययनले उद्योगहरुको आफ्नो क्षमताको ५४.२ उपयोग गरेका छन् । गतवर्ष उद्योगहरुको क्षमता उपयोग ३९.५ प्रतिशत थियो ।

राष्ट्र बैंकका अनुसार चाउचाउ उद्योगले पूर्ण क्षमता उपयोग गरेको देखिएको छ भने ईटा उद्योगको क्षमता उपयोग सबैभन्दा कम अर्थात् ३०.४ प्रतिशत मात्र रहेको देखिएको छ ।
‘विद्युत आपूर्तिमा आएको सुधारले उद्योग क्षेत्रमा सकारात्मक प्रभाव पर्न गएको तथा देशमा कुनै किसिमको बन्दहडताल जस्ता अवरोधजन्य क्रियाकलाप नरहेको कारणबाट समग्र उद्योगहरुको क्षमता उपयोग गत वर्षको यसै अवधि भन्दा बढ्न गएको हो ।’ राष्ट्र बैंकले आफ्नो प्रतिवेदनमा भनेको छ ।

राष्ट्र बैंकका अनुसार उद्योगहरुमध्ये वनस्पति घिउ तथा तेल, प्रशोधित दूध, अन्न तथा पशुदाना एवम् अन्य खाद्यपदार्थ समूहको उत्पादनमा वृद्धि भएको छ । यसैगरी, पेय पदार्थ,
कपडा, औषधि, फलामको छड तथा पत्ति, जुत्ता, सिमेन्ट, ईटा र लत्ता कपडाको उत्पादनमा समेत  वृद्धि भएको छ भने तयारी कपडा, प्रशोधित छाला एवम् बिजुली तार र केवलको उत्पादनमा ह्रास आएको छ ।

राष्ट्र बैंकका अनुसार वनस्पति घिउ तथा तेल समूहको उत्पादन १६.५ प्रतिशत, अन्न तथा पशुदाना समूहको उत्पादन १४.३ प्रतिशत, अन्य खाद्य पदार्थ समूहको उत्पादन ५७.५ प्रतिशत र पेय पदार्थ समूहको उत्पादन ९२.१ प्रतिशतले वृद्धि भएको छ । यसैगरी, जुत्ताको उत्पादन २०.८ प्रतिशत भएको छ ।

यस्तै फलामको छड तथा पत्तिको उ्रत्पादन १७२.६ प्रतिशत, सिमेन्टको उत्पादन ६१ प्रतिशतले, ईटाको उत्पादन १३.० प्रतिशत र चिरेको काठको उत्पादन ७६ प्रतिशतले बढेको छ । तयारी कपडाको
उत्पादन ३१.१ प्रतिशत र बिजुलीको तार र केवुलको उत्पादन १४.६ प्रतिशतले ह्रास आएको छ ।

यस्तै, अन्य खाद्य पदार्थ समूह अन्तर्गत प्रशोधित चियाको उत्पादन २.४ प्रतिशत, प्रशोधित छालाको उत्पादन ६१.२ प्रतिशत र अल्मुनियमको उत्पादन १०.७ प्रतिशतले ह्रास आएको छ भने प्रशोधित दूधको उत्पादन १३.८ प्रतिशतले र औषधिजन्य सबै वस्तुहरुको उत्पादनमा वृद्धि भएको छ ।

राष्ट्र बैंकका अनुसार बैंक तथा वित्तीय संस्थाहरुले औद्योेगिक क्षेत्रमा प्र्रवाह गरेको कर्जा ११ प्रतिशतले बढेर ६ खर्ब ८७ करोड पुगेको छ । समग्र कर्जामा औद्योगिक क्षेत्रमा ३२.३ प्रतिशत कर्जा गएको छ ।


क्लिकमान्डु