काठमाडौंले मेट्रो रेल रुचाएन, मोनोरेल चलाउने जिम्मा विद्यासुन्दरलाई



काठमाडौं । स्थानीय तह निर्वाचनको लागि उम्मेद्वारी दर्ता गर्ने दिन बैशाख १९ गतेसम्म पनि नेकपा एमालेबाट विद्यासुन्दर शाक्यको नाम फाइनल भएको थिएन ।

एमालेमा पदाधिकारी रहेका अष्टलक्ष्मी शाक्य र योगेश भट्टराई काठमाडौं महानगरको प्रमुख निर्वाचन नलड्ने भएपछि काठमाडौंको जिल्लास्तरीय नेताबाट उम्मेद्वार हुने तय थियो ।

एमालेबाट महानगर प्रमुखका लागि २०५४ सालमा चर्चित मेयर केशव स्थापितदेखि मानव अधिकारकर्मी गौरी प्रधान तथा खेलकुद परिषद्मा सदस्य सचिव भएका जिवनराम श्रेष्ठको नाम चर्चामा थियो । आमसंचार माध्यम र सामाजिक सन्जालमा चिनिने पात्र भने केशव स्थापित थिए ।

‘मोनोरेल काठमाडौंमा चलाउन सकिने प्रशस्त सम्भावना छ, हामीलाई कुरा गर्ने तर, काम नगर्ने गरेको आरोप लाग्छ, यो पटक हामीले काम गरेर देखाउने छौं,’ चुनावी अभियानको क्रममा शाक्यले भनेका थिए ।

एमाले अध्यक्ष केपी शर्मा ओली र बरिष्ठ नेता माधव नेपाल गुटको विवादको कारण एमालेको काठमाडौं कमिटी दुई धारमा विभाजित थियो ।

टिकटको बारेमा अनेक अड्कल भएपनि बैशाख १९ मा करिब सवा १ बजेट हामीलाई एमालेबाट विद्यासुन्दर शाक्य प्रमुख उठ्ने जानकारी आयो । र, त्यो अनुसार समाचार क्लिकमाण्डुमा प्रकाशित पनि भयो ।

एमालेबाट काठमाडौं मेयरको उम्मेद्वार विद्यासुन्दर शाक्य

यसैबीच एमाले र राप्रपाबीच तालमेल हुने कुरा बाहिर आयो । उम्मेद्वारको मनोनयन हुने अन्तिम समयमा एमाले र राप्रपाबीच मेयर र उपमेयरमा तालमेल भयो । तर, चुनावी नतिजा भने एमालेका विद्यासुन्दरको पक्षमा आउँने अब पक्कापक्की जस्तै भयो । एमालेको समर्थनमा उम्मेद्वार बनेका राप्रपाका राजाराम श्रेष्ठ नेपाली कांग्रेसकी हरिप्रभा खड्कीसँग पराजित बन्ने निश्चित जस्तै भयो ।

देशको राजधानी काठमाडौंमा चुनावी नतिजाको आधारमा विश्लेषण गर्ने हो भने एमालेले राजधानीलाई आफ्नो पुरानो विरासत फर्काएको भन्न सकिन्छ । तर, दुईवटा संविधानसभामा अगाडि रहेको कांग्रेसले स्थानीय निर्वाचनमा भने काठमाडौंको प्रभाव गुमाएको छ ।

एमालेको आन्तरिक राजनीतिमा अध्यक्ष ओली निकट मानिने शाक्यले काठमाडौंमा एमालेलाई २०५४ सालको अवस्थामा फर्काएका छन् ।

काठमाडौंमा के आधारमा एमाले आयो र के आधारमा कांग्रेसले गुमायो भन्ने विश्लेषण राजनीतिक विश्लेषकले गर्लान । सतही रुपमा हेर्दा नयाँ भनिने दलहरु विवेकशील र साझाले कांग्रेसको मत काट्दा त्यसको फाइदा एमालेका विद्यासुन्दर शाक्यलाई भएको छ ।

२०४९ साल र २०५४ सालमा काठमाडौं महानगरको वडा अध्यक्ष बनेका शाक्यले अब वडामाथी उठेर काठमाडौं महानगर हाक्ने जिम्मा पाएका छन् । देशको राजधानी भएको हुँदा काठमाडौंको चुनावको नतिजा देशभरका जनतालाई चासो थियो ।

पन्चायतकालदेखि बामपन्थी राजनीतिमा सक्रिय शाक्य एमालेको काठमाडौं महानगरको चुनावी प्रतिस्पर्धामा उनले मोनोरेल चलाउने घोषणा गरेका थिए । चुनाव अगाडि महानगरका प्रमुखहरुमा शाक्यले मोनो तथा कांग्रेसका राजुराज जोशीले मेट्रो चलाउने घोषणा गरेका थिए । मतदाताले काठमाडौंमा मेट्रोभन्दा मोनोरेल चढ्ने विचार गरे । मतपनि मोनोरेल चढाउने शाक्यलाई दिए ।

रेलै नभएको नेपालको लागि मोनो÷मेट्रो जस्तो भएपनि रेल एउटा सपना हो ।

उनले निर्वाचन अगाडि काठमाडौंको पुरातात्विक सम्पतालाई पुननिर्माण गरेर जिवन्त सहर राख्ने बाचा गरेका थिए । भूकम्पले गर्दा काठमाडौंको पुरातात्विक सम्पदाको क्षती भएको छ । यसलाई पुननिर्माण गरेर हेरिटेज सहर बनाउने बाचा शाक्यले मतदातासँग गरेका थिए ।

उनले निर्वाचन प्रचारको क्रममा एकवर्षभित्रमा मोनोरेल ल्याउने बताएका थिए ।

‘मोनोरेल काठमाडौंमा चलाउन सकिने प्रशस्त सम्भावना छ, हामीलाई कुरा गर्ने तर, काम नगर्ने गरेको आरोप लाग्छ, यो पटक हामीले काम गरेर देखाउने छौं,’ चुनावी अभियानको क्रममा शाक्यले भनेका थिए ।

देशको राजधानी भएपनि काठमाडौंमा सार्वजनिक यातायात व्यवस्थित छैन । अझ बेलुका ८ बजेपछि गाडी नपाउने समस्या काठमाडौंमा छ । यो समस्या समाधानको लागि शाक्यले २० घण्टा सार्वजनिक यातायात चलाउने प्रतिबद्धता व्यक्त गरेका थिए ।

पहिलो काम बृद्धभत्ता बढाउने

एक सय दिनमा एक सय १ वटा काम गर्ने सूची सार्वजनिक गरेका शाक्यले पहिलो नम्बरमा राज्यले दिदै आएको बृद्धबद्धाको भत्ता २ हजारबाट ३ हजार बढाएर ५ हजार पुर्याउने घोषणा गरेका थिए । उनले ८४ वर्ष पुगेकालाई १० हजार थप गरेर १२ हजार दिने मेयरले गर्ने प्रथम निर्णय हुने आफ्नो निर्वाचन प्रतिबद्धता पत्रमा उल्लेख गरेका थिए ।

उनका एक सय १ प्रतिबद्धता सुचीमा सरकारले अगाडि बढाएका केही कार्यक्रमदेखि केही असम्भव लाग्नेसम्मका कार्यक्रम समेटिएका छन् ।

काठमाडौं महानगरको मत गणना सम्पन्न भएको भने छैन । बिहान साढे ९ बजेतिर प्राप्त पछिल्लो मत गणना परिणाम अनुसार शाक्यले ४९ हजार ८५४ मत प्राप्त गरेका छन् । उनका निकटम प्रतिस्द्धन्द्धी नेपाली काँग्रेसबाट प्रत्यासी बनेका राजुराज जोशीले ३५ हजार ३५० मत पाएका छन् ।

निर्वाचन आयोगले दिएको जानकारी अनुसार काठमाडौं महानगरको अब करिब २१ हजार मत गणना गर्न बाँकी छ । यस्तो अबस्थामा शाक्यले जोशीको भन्दा १४ हजारभन्दा बढी मतले अग्रता लिएका छन् । यसकारण अब शाक्यको जीत निश्चित जस्तै भएको छ भने जोशीले जित्ने सम्भाबना करिब सकिएको छ ।

 

 


क्लिकमान्डु