सरकार र मानवीय सहायता साझेदारहरूबीच आपतकालीन पूर्वतयारी स्थलको दिर्घकालिन योजना बारेमा अन्तरक्रिया



काठमाडौं ।  नेपाल सरकार, गृह मन्त्रालय, बेलायतीे वैदेशिक सहायता नियोग (डिएफआइडी), संयुक्त राष्ट्रसङ्घीय आवासीय संयोजक (यूएनआरसी) र विश्व खाद्य कार्यक्रम (डब्लुएफपी) बीच आज त्रिभुवन विमानस्थल परिसरमा अवस्थित मानवीय सहायता स्थल (एचएसए)मा विपद्को अझ राम्रो पूर्वतयारीका दिगो उपायहरुका बारेमा छलफल भएको छ ।

बैठकमा नेपाल सरकार, विभिन्न दुतावासका प्रमुख, दातृ निकायका साथै संयुक्त राष्ट्रसङ्घीय निकायका प्रतिनिधिहरु भविष्यमा आइपर्ने विपद्का लागि तयार रहन मानवीय सहायता समुदाय कसरी मिलेर काम गर्न सकिन्छ भन्ने बारेमा छलफल गर्ने उद्देश्यका साथ यो कार्यक्रम आयोजना गरिएको थियो ।

कार्यक्रममा गृह मन्त्रालयका सहसचिव केदार न्यौपानेले भुकम्पपछिको आपतकालिन समयमा राष्ट्रिय आपकालिन कार्यसञ्चालन केन्द्र, डब्लुएफपी र लजिस्टिक क्लस्टरबीच उत्कृष्टरुपमा समन्वय गरिएको बताए । उनले नेपाल विपद्को जोखिममा रहेको हुनाले नेपाल सरकार एउटा दिगो आपतकालीन तथा पूर्वतयारी खाकाको विकास गर्न सरोकारवालाहरुसँग मिलेर कामगर्न प्रतिबद्ध रहेको उल्लेख गरे ।

नेपालमा २०७२ बैशाखमा गएको भूकम्पपछि एचएसएमा १०४ संस्थाहरुका खाद्यान्न, औषधी, आपतकालिन आवास लगायत सरसफाइ सामग्रीहरु ८८,८०० घन मिटर मानवीय राहत सामग्री व्यवस्थापन गरिएको थियो । त्रिभुवन विमानस्थलमार्फत आएको राहत सामग्रीलाई तत्कालै व्यवस्थापन गर्न एचएसए महत्वपूर्ण सावित भएको थियो, जसबाट प्रतिकार्य छिटो हुन गई धेरैको जीवन बचाउन शंभव भएको थियो । बस्टन कन्सल्टिङ्ग ग्रुपले गरेको अध्ययन अनुसार एचएसएको स्थापनाले भूकम्पपछिको प्रतिकार्य समयमा कम्तीमा पनि तीन हप्ताको समय बचत भएको थियो ।
अग्रीम रुपमा संभावित बिपदलाई मनन् गरी निर्माण भएको यो स्थलबाट विमानस्थलमा मानवीय सहायता सामग्री छिटो आपूर्ति हुन गई मानव जीवन बचाउन सकिएको बेलायती सहायता नियोग नेपालका प्रमुख गेल मारजेट्टीले बताए ।

संयुक्त राष्ट्रसङ्ीय आवासीय संयोजक भ्यालेरी जुलियान्डले सरकार, नागरिक समाज र अन्तर्राष्ट्रिय समुदायबीच लजिस्टक क्लस्टरमार्फत नेपालको भूकम्पपछि भएको सहकार्यलाई नमूनाकै रुपमा लिने गरिएको र यसलाई नेपालभरी विस्तार गर्न जरुरी रहेको बताए ।

जनताका लागि सहकार्यात्मक अवधारणा सबैभन्दा उत्तम उपाय हो भन्ने कुरामा कुनै द्विविधा नभएको र आपतकालीन अवस्थामा यसले जीवन बचाउने काम गर्नसक्ने डब्लुएफपी प्रतिनिधि र देशीय निर्देशक पिप्पा ब्राडफोर्डले उल्लेख गरे ।

नेपालको पूर्वतयारीको कार्यलाई सुदृढ बनाउन नेपाल सरकार, दातृ निकाय र मानवीय सहायता समुदाय मिलेर काम गर्न सक्ने सहकार्यात्मक साझेदारीको अवस्था निर्माण गर्ने विश्व खाद्य कार्यक्रमले उद्देश्य लिएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल–मानविय सहायता स्थल एचएसए जस्तै संरचनाहरु नेपालका विभिन्न रणनीतिक स्थानहरुमा निर्माण गरिने लक्ष्य लिइएको जारी विज्ञप्तिमा उल्लेख छ ।


क्लिकमान्डु