यार्सागुम्बा सङ्कलन गर्न सर्वसाधारणको ताँती



डोल्पा । डोल्पालगायत हिमाली जिल्लामा यार्सागुम्बा सङ्कलन सुरु भएको छ ।

यार्सागुम्बा सङ्कलनका लागि हिमाली भेगतर्फ लाग्नेको ताँती नै लागेको छ । यार्सागुम्बा सङ्कलन गरी मनग्य आम्दानी गर्ने लक्ष्यका साथ जाजरकोट, रुकुम, रोल्पा, सल्यानलगायत जिल्लाबाट हजारौँ सर्वसाधारण डोल्पा आइपुगेका छन् ।

उच्च हिमाली भेगमा पाइने यार्सागुम्बा यहाँका बासिन्दाको आम्दानीको मुख्य स्रोतको रुपमा रहँदै आएको छ । बर्सेनि जेठ पहिलो सातादेखि असार पहिलो सातासम्म यार्सागुम्बा सङ्कलन गरेर सङ्कलकले लाखौँ रुपैयाँ आम्दानी गर्छन् ।

यार्सागुम्बा सङ्कलनको याम सुरुभएसँगै बन्दोबस्तीका सामानसहित सर्वसाधारण हिमाली क्षेत्रमा पुगेका छन् । त्रिपुरासुन्दरी नगरपालिका– १ का वीरबहादुर थापा यार्सागुम्बा टिपेर कमाएको आम्दानीले आधारभूत आवश्यकता पूरा गर्ने गरेको बताउँछन् । ‘जोखिम मोलेर भए पनि यार्सागुम्बा सङ्कलन गर्नुको विकल्प छैन,’ उनले भने । यार्सागुम्बा टिप्न उच्च हिमाली क्षेत्र पुगेका कतिपय सङ्कलकले बर्सेनि ज्यान गुमाउने गरेका छन् ।

यार्सागुम्बा पाइने यहाँको हिमाली क्षेत्र आजबाट सङ्कलनका लागि खुल्ला गरिएको छ । यहाँका भोक्पा, भाङ्का, सागबारी, कुनास, नावरपानी, रुपपानी, पोखेपानी, प्यारी भोक्पा, ताक्सीलगायत ठाउँमा यार्सागुम्बा सङ्कलन कार्य सुरु भएको छ । यार्सागुम्बा पाइने क्षेत्रको केही भाग सामुदायिक वनभित्र तथा केही भाग शे–फोक्सुन्डो राष्ट्रिय निकुञ्जको संरक्षण क्षेत्रभित्र पर्छ ।

निकुञ्जका संरक्षण अधिकृत रामदेव चौधरीका अनुसार एक हप्ता अगाडि नै सार्वजनिक सूचना जारी गर्दै जिल्लाका सुलीगाड, त्रिपुराकोट, तोइजुम, त्रिपुराकोट, धोलगायत दशवटा ठाउँ सङ्कलनका लागि खुल्ला गरिएको छ । राष्ट्रिय निकुञ्ज निर्देशिका अनुसार जिल्ला बाहिरका सङ्कलकलाई तीन हजार रुपैयाँ, जिल्ला भित्रकालाई दुई हजार रुपैयाँ, संरक्षित क्षेत्रका सर्वसाधारणलाई ५०० रुपैयाँका दरले सङ्कलन दस्तुर लिने गरिएको छ ।

गत वर्ष छ हजारभन्दा बढीले सङ्कलन गरेका र यस पटक सो सङ्ख्या अघिल्लो वर्षको भन्दा बढ्ने चौधरीले बताए । जेठ ११ गतेदेखि असार ९ गतेसम्मका लागि सङ्कलन रसिद वितरण गरिएको छ । सो अवधि भन्दा बढी समयसम्म हिमाली भेगमा बस्न नपाइने कानुनी प्रावधान छ । यार्सागुम्बा सङ्कलन कार्यलाई व्यवस्थित गर्न सुरक्षा व्यवस्था व्यवस्था कडा पारिएको छ ।

यार्सागुम्बा सङ्कलनका लागि बन्दोबस्तीका सामानसहित सर्वसाधारण हिमाली भेगतर्फ लागेपछि यहाँका गाउँघर सुनसान वनेका छन् । घरकुरुवाका रुपमा अशक्त र वृद्धवृद्धा मात्र बसेका छन् । डोल्पाका कतिपय विद्यालय आंशिक रुपमा बन्द भएका छन् भने केही  विद्यालय पूर्णरुपमा बन्द भइसकेका छन् ।

यहाँका त्रिपुरासुन्दरी नगरपालिकामा पर्ने जनप्रभा उमावि, आदर्श उमावि, ठूलीभेरी नगरपालिकामा पर्ने सरस्वती उमावि विद्यालय आंशिकरुपमा खुलेपनि तल्लो डोल्पा तथा उपल्लो डोल्पाका सबैजसो विद्यालय पूर्णरुपमा बन्द छन् । शिक्षक र विद्यार्थी समेत यार्सागुम्बा सङ्कलनमा गएका छन् ।

“डोल्पाली विद्यार्थीका लागि वर्षभरिको पढाइ खर्च जुटाउन समय यही हो,” त्रिपुरा मावि त्रिपुराकोटका विद्यार्थी केशर सार्कीले भने । धेरैजसोको आर्थिक अवस्था कमजोर भएका कारण यहाँका विद्यार्थी यार्सागुम्बा सङ्कलनका लागि जाने गरेका उनको भनाइ छ । बर्सेनि जिल्लाका ११५ वटै विद्यालयलाई विद्यालय बन्द नगर्न पत्राचार गर्ने गरेको जिल्ला शिक्षा कार्यालयका शाखा अधिकृत सिंहराज डाँगी बताउँछन् ।

‘यस वर्ष पनि विद्यालय बन्द नगर्न निर्देशन दिएका छौँ,’ उनले भने ।

विद्यार्थी शिक्षक मात्र होइनन् जिल्लास्थित विभिन्न सरकारी तथा गैरसरकारी सङ्घसंस्थाका कर्मचारी समेत यार्सागुम्बा सङ्कलनका लागि हिमाली भेगतर्फ लागेका छन् ।


क्लिकमान्डु