स्याटलाइट सहर बनाउन डिपीआर अगाडि नै राजपत्रमा सुचना




काठमाडौं । काठमाडौं उपत्यका विकास प्राधिकरणले उपत्यकाका ४ स्थानमा बन्ने स्याटलाईटको निर्माणका लागि राजपत्रमा सुचना प्रकाशित गर्ने भएको छ ।

प्राधिकरणले स्याटलाईट सहर बन्ने स्थानमा सरकारी वा निजी भौतिक संरचना निर्माण प्रकृया रोक्नका लागि राजपत्रमा सुचना प्रकाशित गर्ने प्रकृयामा अगाडी बढाएको हो ।

काठमाडौं उपत्यका विकास प्राधिकरणका शाखा अधिकृत केशवप्रसाद न्यौपानेले आयोजना कार्यन्वयनमा सहजीकरण गर्नका लागि राजपत्रमा सुचना प्रकाशित गर्न लागिएको जानकारी दिए ।

‘काठमाडौं उपत्यकामा ४ स्थानमा प्राधिकरणले स्याटलाइट सहर बनाउन लागेको हो, स्याटलाईट सहर बन्ने स्थानका केही स्थानमा निर्माण भएका भौतिक संरचना भत्काउनु पर्ने हुन्छ, त्यसैले हामीले सहर बन्ने स्थानमा भौतिक संरचना निर्माण नहोस् भन्ने हेतुले राजपत्रमा सुचना प्रकाशित गर्ने प्रकृयामा अगाडी बढेको हो,’ न्यौपानेले क्लिमाण्डूसँग भने ।

कहाँ कहाँ बन्छन् स्याटलाइट सिटी
(क)काठमाडौं ईसान (पूर्व–उत्तर) नयाँ सहर विस्तार क्षेत्र
पूर्वः भक्तपुरको नगरकोट जाने सडक, तेलकोट भन्ज्याङसम्म ।
पश्चिमः जोरपाटी क्रिकेट स्टेडियम, मुलपानी, गोठाटर हँदै मनोहरा पुल भक्तपुर जाने पुरानो बाटो ।

उत्तरः साँखु बजार र साँखु जाने मुल सडक ।

दक्षिणः भक्तपुर पुरानो बाटो (नेपाल सैनिक प्रतिष्ठान– खरिपाटी, देवोमिबा इतापाके जग्गा एकिकरण आयोजना, सिन्टीटार जग्गा एकिकरण आयोजना र दिव्यश्वरी जग्गा एकिकरण आयोजना बाहेकको क्षेत्रहरु मात्र) भित्रको करिब १ लाख रोपनी क्षेत्रफल जग्गामा नयाँ नगरको भौतिक विकास योजना तर्जुमा गर्ने ।

(ख)काठमाडौं आग्नेयः (पूर्व–दक्षिण) काठमाडौं उपत्यकाभित्र भक्तपुर जिल्लाको नयाँ सहर विस्तार क्षेत्र ।

निम्न सिमानाभित्रको कटुन्जे, गुण्डु, दधिकोट, शिरुटार, बालकोट भित्रको जग्गाहरु ।
पूर्वः अरनिको राजमार्गको सूर्यविनायक चोकदेखि सुर्यविनायक मन्दिर अगाडी वनलाई बाहिर पार्दै फेदको बाटो ।

पश्चिमः खहरे खोला, बालकोट विरुवा सडक, पानी ट्याकी, बालकोट अमरनगर थिमी हुँदै अरनिको राजमार्ग सिमान ।

उत्तरः अरनिको राजमार्गको सिमाना ।

दक्षिणः भक्तपुर जिल्लाको सिनामंगल, रानीकोट जंगल छेउ, अनन्तलिगेश्वर फेदी, तर्खगाल, पात्लेटार, विरुवा हुँदै खहरेसम्म करिब १० हजार रोपनी क्षेत्रफल ।

(ग) काठमाडौं तैऋत्यः (दक्षिण–पश्चिम) ललितपुर जिल्लाको नयाँ सहर विस्तार क्षेत्र ।

निम्न सिमानाभित्रको साविको खोकना (१, २, ३, ४, ५, ६, ७, ८) र बुङमती (१ नम्बर वडाको भैंसिपाटी छम्पी जाने मुख्यबाटोबाट बस्ती तर्फ मात्र, र २, ३, ४, ५, ६ को सबै) नगरपालिकाका जग्गाहरु ।

पूर्वः छेयासीकोटदेखि साविक सैवु गाविसको सिमान हुँदै फसिडोल, वाग्मती नदीको झोलगे पुलसम्म ।

पश्चिमः बागमती नदी सिमना ।

उत्तरः साविक सैंबु गाविसको सिमाना ।

दक्षिणः बागमती नदीसम्म करिब १० हजार रोपनी क्षेत्रफल ।

(घ) काठमाडौं उत्तरः काठमाडौ जिल्लाको नयाँ हरित सहर विस्तार क्षेत्र ।

पूर्वः सामाकोसी, टोखा रोड हुँदै बाइपास ।

पश्चिमः काभ्रेस्थली बाइपास जाने मुल सडक ।

उत्तरः सपनातिर्थ मालुङ हुँदै काभ्रेस्थली ।

दक्षिणः ग्रीनल्याण्ड चोकदेखि मनोरथ हुँदै महादेव खोला काभ्रेस्थलीको मुल सडक पुलसम्म करिब १० हजार रोपनी क्षेत्रफल ।

काठमाडौं उपत्यका विकास प्राधिकरणले नयाँ सहर बन्ने स्थानमा सम्भाव्यता अध्ययन रिर्पोट (डिपिआर) प्रकृयासँग भौतिक संरचना निर्माणमा रोक लगाउनका लागि राजपत्रमा सुचना प्रकाशित गर्ने प्रकृयामा अगाडी बढेकोे जानकारी दिएको छ ।

जेष्ठ १५ गते आउने बजेटमा नयाँ सहरको डिपिआरका लागि बजेटसँगै राजपत्रमा सुचना प्रकाशित हुने अधिकृत न्यौपाने बताउँछन् ।


क्लिकमान्डु