शहरी विकासमन्त्री अर्जुननरसिंहले ५० लाख घुस मागेको आवास कम्पनीका जीएमको आरोप



काठमाडौं । राष्ट्रिय आवास कम्पनी लिमिटेडका महाप्रबन्धक दूतबहादुर गुरुङले सहरी विकासमन्त्री अर्जुननरसिंह केसीले आफूसँग ५० लाख रुपैयाँ घुस मागेको आरोप लगाएका छन् । आफूले घुस नदिएपछि मन्त्री केसीले आफूलाई पदबाट हटाएको गुरुङले दाबी गरे ।

मन्त्री केसीले गत जेठ ७ गते मन्त्रिपरिषदबाट निर्णय गराएर गुरुङलालई बर्खास्त गरेका थिए ।

शुक्रबार राजधानीको संवाद डबलीमा पत्रकार सम्मेलन गरेर गुरुङ मन्त्री केसीमाथि खनिए ।

‘मन्त्रीज्यूले उनको प्रगति गराउन मसँग घुस मागे, मैले हुन्न भनेँ, बदलामा उनले झुठो कागजात बनाई मलाई पदबाट हटाएको पत्र थमाए, ममाथि घोर अन्याय भएको छ,’ गुरुङले दाबी गरे ।

घुस खुवाएको भए मेरो जागिर जाँदैनथ्यो तर जिम्मेवारीप्रति निष्ठावान एउटा कर्मचारी भएकोले घुस नदिएको उनले दाबी गरे ।

आफूमाथि अन्याय परेको भन्दै अदालत जाने उनले बताए । न्यायलयले आफूलाई न्याय दिने गुरुङको विश्वास छ ।


पुष्प दुलाल