कमोडिटीज एक्सचेन्जमा वार्षिक ३ खर्बको कारोबार, ५ हजार लगानीकर्ता



काठमाडौं । नेपालमा रहेका कमोडिटीज एक्सचेन्जले वार्षिक ३ खर्बको कारोबार गर्ने खुलेको छ ।

नेपालमा सातवटा कमोडिटीज एक्सचेन्ज खुलेपनि अहिले ३ वटा मात्र संचालनमा रहेका छन् ।

अहिले नेपालमा नेपाल डेरिभेटिव एक्सचेन्ज, डेरिभेटिव एण्ड कमोडिटी एक्सचेन्ज नेपाल र मर्कटायल एक्सचेन्ज नेपाल लिमिटेड संचालनमा छन् ।

अर्थमन्त्रालयले सार्वजनिक गरेको आर्थिक सर्वेक्षण अनुसार माघ मसान्तसम्ममा नेपालमा संचालनमा रहेका कमोडिटिजीज एक्सचेन्ज मार्फत दुई खर्ब २६ अर्ब ८३ करोड रुपैयाँको कारोबार भएको छ ।
अघिल्लो आर्थिक वर्ष २०७२÷७३ मा नेपालमा कमोडिटीज एक्सचेन्ज मार्फत २ खर्ब ९५ अर्ब ३२ करोडको कारोबार भएको थियो ।

माघ मसान्तसम्म २ खर्ब २६ अर्बको कारोबार भएको हुँदा चालु आर्थिक वर्षमा कमोडिटीज एक्सचेन्ज मार्फत हुने कारोबार ३ खर्ब भन्दा बढी हुने देखिन्छ ।

२०७१/७२ मा २ खर्ब ५५ अर्बको कारोबार भएको थियो । यस्तै २०६९/७० मा करिब ५ खर्बको कारोबार भएको थियो । कानून नभएको कारण कमोडिटी कारोबारमा बिकृति देखिएपछि लगानीकर्ताले यसमा लगानी गर्न छाडेपनि विस्तारै कारोबार बढ्दै गएको देखिन्छ ।

व्यवस्थापिका संसद्मा कमोडिटीज कारोबारलाई नियमन गर्ने विधेयक दर्ता भइसकेको छ । जसले ५० करोड न्यूनतम पुँजी भएको कम्पनीलाई कमोडिटीज एक्सचेन्ज खोल्न अनुमति दिन्छ । नियमनकारी निकायको रुपमा धितोपत्र बोर्डलाई राखिएको छ ।

विधेयकमा खासै विवाद नभएको हुँदा विधेयक पारित छिटै पारित हुने सम्भावना छ ।

आर्थिक सर्वेक्षण अनुसार कमोडिटीजमा लगानीकर्ताको संख्या करिब ५ हजार छ । सेयर बजारको तुलनामा यो संख्या भने निकै कम हो । यद्यपी कानून पास भएर कारोबार नियमनको दायरामा आएपछि लगानीकर्ताको संख्या बढ्ने छ । यस्तै कमोडिटीज बोक्ररको संख्या २ सय रहेको छ ।


क्लिकमान्डु