नुवाकोटको भुलभुले झरनामा क्यानोनिङ महोत्सव



नुवाकोट । नेपाल क्यानोनिङ एसोसिएसनले यही जेठ २६ र २७ मा नुवाकोटको ककनीस्थित भुलभुले झरनामा क्यानोनिङ महोत्सव आयोजना गरेको छ।

नेपाल पर्यटन बोर्ड, ट्रेकिङ एजेन्ट एसोसिएसन अफ नेपाल (टान) तथा पर्यटनसँग सम्बन्धित संस्थाको सहयोगमा यही जेठ २६ र २७ गते आयोजना भएको महोत्सवमा अष्ट्रेलिया, फ्रान्स र जापानका साथै स्वदेशी पर्यटकहरुको सहभागिता थियो।

विगत तीन वर्षदेखि नेपालका विभिन्न झरनामा क्यानोनिङलाई महोत्सवकै रुपमा मनाउन थालेपछि स्वदेशी तथा विदेशी युवाको आकर्षण बढेको छ।

नुवाकोटको ककनीमा रहेको करिब ५० मिटर अग्लो भुलभुले झरनामा दुई दिनमा करिब १८० स्वदेशी तथा विदेशी पर्यटकले क्यानोनिङको आनन्द लिए ।

एसोसियसनका अध्यक्ष राजेन्द्र लामाले नेपालका हरेक स्थानमा कुनै न कुनै किसिमका साहसिक पर्यटकीय गतिविधि लोकप्रिय भइरहेका बेला पछिल्लो समयमा पहाडका अग्ला झरनाबाट डोरीको सहायतामा झर्दै खेलिने क्यानोनिङप्रति स्वदेशी विदेशीको आकर्षण बढेको बताए ।

एसोसिएसनले क्यानोनिङबारे प्रचारप्रसार गरी यसको प्रवद्र्धन गर्न कार्यशाला, आधारभूत एवम् पुनर्ताजगी प्रशिक्षण चलाउँदै आएको जानकारी दिएको छ।


क्लिकमान्डु