नेपाली बिस्कुट बजारमा भारतीय ब्रिटानियाको प्रवेश, सवा अर्ब लगानी गर्ने



काठमाडौं । भारतको चर्चित ब्राण्ड ब्रिटानियाले नेपालमा १ अर्ब ११ करोड रुपैयाँ लगानी गर्ने भएको छ ।

नेपालमा बिस्कुट उद्योगमा लगानी गर्नको लागि कम्पनीले उद्योग विभागबाट अनुमति पाएको छ । ब्रिटानिया नेपाल प्रालिको दर्ता भएको कम्पनीले विदेशी लगानी भित्राउनको लागि उद्योग विभागबाट अनुमति पाएको छ ।

उद्योग विभागका महानिर्देशक शंकर अर्यालले प्रत्यक्ष विदेशी लगानी भित्राउनको लागि कम्पनीलाई अनुमति दिएको बताए । ‘यसले पूर्ण रुपमा नयाँ प्रविधि बिस्कुट उद्योगमा भित्राउने भनेको छ’,उनले क्किलमाण्डुसँग भने,‘ जग्गा लिएर नयाँ उद्योग लगाउने तयारी कम्पनी गरेको छ।’

विभागले केही दिन अगाडि ब्रिटानियालाई अनुमति दिएको हो । बारा जिल्लामा प्लान्ट स्थापना गरेर ब्रिटानियाले उत्पादन थाल्ने छ । उद्योग विभागमा पेश भएको विवरण अनुसार ब्रिटानियाले नेपालमा एक अर्ब ११ करोड प्रत्यक्ष विदेशी लगानी ल्याउने र तीन सय ४५ जनालाई रोजगारी दिने उल्लेख छ ।

नेपाली स्वदेशी उद्योगले बिस्कुटमा राम्रो व्यवसाय गर्न नसकेको अवस्थामा ब्रिटानियाको प्रवेशले भने बिस्कुट उद्योगमा थप सम्भावना देखाएको छ ।
व्यवसायिक घराना गोल्छा अग्रनाइजेशनले उत्पादन गर्ने हुलास बिस्कुट उत्पादन बन्द गरेको थियो ।

नेपाली बिस्कुट उद्योगमा अहिले पाँच अर्ब रुपैयाँ लगानी भएको छ । नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको आर्थिक विवरण अनुसार चालु आर्थिक वर्षको ६ महिनामा नेपाली बिस्कुट उद्योगले ५० प्रतिशत मात्र प्रयोग गरेका छन् ।

भारतीय बजारबाट अनौपचारिक रुपले भित्रने बिस्कुटले पनि नेपालको बजारलाई प्रभाव पार्ने गरेको छ ।

ब्रिटानियाको प्रवेश के असर गर्छ ?

ब्रिटानिया भारतको बिस्कुट क्षेत्रमा चर्चित ब्राण्ड हो । ब्रिटानियाले नेपालमा वार्षिक १४ हजार मेट्रिक टन बिस्कुट उत्पादन गर्ने लक्ष्य लिएको छ । नयाँ प्रविधिमा प्लान्ट लगाउने र ठूलो मात्रामा उत्पादन हुने हुँदा बिस्कुटको नेपाली बजारमा ब्रिटानियाले हिस्सा लिन सक्ने देखिन्छ ।

नेपालको पहिलो बिस्कुट नेबिको प्रालि स्थापना गर्दापनि ब्रिटानियाले प्राविधिक सहयोग गरेको थियो ।

भारतीय औद्योगिक घराना वाडिया ग्रुपको लगानी रहेको ब्रिटानियाले वार्षिक एक खर्ब रुपैयाँको कारोबार गर्ने गर्छ । भारतमा ब्रिटानियाको उत्पादन लोकप्रिय मानिन्छन् । ब्रिटानियाले बिस्कुट,केकको उत्पादन गर्छ । ब्रिटानियाले उत्पादन गर्ने गुडडे बिस्कुट सबैभन्दा लोकप्रियमा पर्छ ।

बजारिकरण गर्न नसक्दा नेपालमा संचालन भएका बिस्कुट उद्योगहरु बन्द भएका हुन् । ब्रिटानियाको प्रवेशले बिस्कुटमा नयाँ ब्राण्डिङ गर्ने हुँदा बिस्कुट उद्योगको विकासको लागि सहयोगी भने हुन्छ । यद्यपी नेपालमा सानो आकारका बिस्कुट कम्पनी रहेको हुँदा बिस्कुटमा ठूला कम्पनीको प्रवेशले प्रतिस्पर्धा गर्नपनि नसक्ने हुनसक्छ ।


क्लिकमान्डु