भूकम्पपीडितलाई कृषि औजार



फाइल

खोटाङ। भूकम्पपीडित किसानलाई जिल्ला कृषि विकास कार्यालयले कृषि औजार वितरण गरेको छ ।

किसानलाई जमिन जोत्ने हाते ट्र्याक्टर, धान र गहुँ झार्ने थ्रेसर मेसिन, मकै छोडाउने कर्न सेलर, पानी फाल्ने पापा पम्प, थोपा सिँचाइ गर्ने ड्रिम इरिगेसन सेट, बीउ तथा अन्न भण्डारण गर्ने हर्मेटिक झोलालगायत कृषि औजार वितरण गरेको हो ।

रातो कार्ड पाएका भूकम्पपीडितलाई राष्ट्रिय पुनःनिर्माण कोषको एक करोड ४९ लाख रुपैयाँ बराबरको कृषि उपकरण गत जेठ दोस्रो सातादेखि वितरण सुरु गरिएको वरिष्ठ कृषि विकास अधिकृत श्यामप्रसाद घिमिरेले जानकारी दिए ।

हर्मेटिक झोला शतप्रतिशत तथा अन्य उपकरण ९० प्रतिशत अनुदानमा वितरण भइरहेको उनले बताए । उपकरणमा १० प्रतिशतमात्र रकम बेहोर्नुपर्ने भएकाले कार्यालयमा उपकरण लिन आउने किसानको सङ्ख्या बढ्दै गएको अधिकृत घिमिरेले बताए ।

‘भूकम्पपीडितको बाहुल्यता भएको क्षेत्रलाई प्राथमिकतामा राखेर कृषि उपकरण वितरण गरिरहेका छौँ,’ उनले भने ।

आधुनिक कृषि औजार वितरणका लागि कार्यालयले गत पुसमा आवेदन खुलाएको थियो । प्रतिवटाको रु ८८ हजार पर्ने १७ वटा हाते ट्र्याक्टरमध्ये हालसम्म सातवटा किसानले लगिसकेका छन् । प्रतिवटाको एक लाख रुपैयाँ पर्ने २१ वटा थ्रेसर मेसिनमध्ये हालसम्म चारवटा वितरण गरिएको छ ।

प्रतिवटाको १५ हजार रुपैयाँ पर्ने ४५ वटा कर्नसेलरमध्ये नौवटा वितरण भइसकेको छ । भूकम्पपीडित किसानलाई कृषिमार्फत प्रतिवटा ३० हजार रुपैयाँ पर्ने ४५ वटा ड्रिम इरिगेसन सेट, प्रतिवटा २८८ रुपैयाँ पर्ने नौ हजार हर्मेटिक ब्याग र प्रतिवटा पाँच लाख रुपैयाँ पर्ने छ सेट पापा पम्प वितरण गर्ने तयारी भइरहेको घिमिरेले बताए।

‘ठूलो परिमाणमा हर्मेटिक ब्यागको टेन्डर आह्वान गरिएको छ,’ उनले भने।

प्रतिवटा ५५ हजार रुपैयाँको ६० वटा प्लास्टिक पोखरी निर्माणका लागि सम्झौताको तयारी भइरहेको छ । कृषि उपकरण असारभित्र वितरण गरिसक्ने कार्यालयले जनाएको छ । सबैभन्दा बढी हाते ट्र्याक्टरका लागि किसानको आवेदन परेको थियो । जमिन जोत्न, मकै छर्न, जेनेरेटरका रुपमा उपयोग गर्न, पानी पम्पलगायतमा उपयोग हुने भएकाले हाते ट्र्याक्टरप्रतिको माग बढेको घिमिरेको भनाइ छ ।


क्लिकमान्डु