कामदारको पैसाले राजदुतलाई गाडी र मन्त्रीलाई विदेशी होटलमा बस्ने खर्च




काठमाडौं । घर, परिवार तथा आफन्त त्यागेर सम्भावनाको खोजी गर्दै खाडी तथा मलेशिया जस्ता देशमा जोखिमपूर्ण काम गर्ने नेपालीको पैसामा ठूलाबडाले मनपरी गर्ने गरेका छन् ।

बैदेशिक रोजगारीमा जाने नेपालीसँग प्रतिब्यक्ति १ हजार रुपैयाँका दरले पैसा उठाएर मन्त्रीको बिदेश भ्रमणको बेला होटलमा बसेको खर्च तिर्नेदेखि कर्मचारीलाई तलब र राजदुतलाई गाडीसमेत श्रमिकको पैसाले किन्ने गरेको पाइएको छ ।

विदेश जाने नेपाली कामदारबाट उठाएको पैसाले बैदेशिक रोजगार प्रबद्र्धन बोर्डका कर्मचारीको बिदेश भ्रमणमा समेत खर्च हुने गरेको भेटिएको हो ।

कति पैसा छ कोषमा ?
बोर्ड स्रोतले दिएको जानकारी अनुसार गत आर्थिक बर्षमा बोर्डले ७५ करोड १३ लाख ३४ हजार रुपैयाँ आम्दानी गरेको छ ।

अघिल्लो आर्थिक बर्षसम्म बचतमा रहेको रकम ३ अर्ब ३० करोड ५० लाख ८५ हजार रुपैयाँ थियो । गत आर्थिक बर्षको ७५ करोड १३ लाख ३४ हजार रुपैयाँ थप हुँदा सो कोषमा जम्मा आय ४ अर्ब ५ करोड ६४ लाख १९ हजार रुपैयाँ भयो ।

यसमध्ये केही रकम कोषको उद्देश्य बमोजिमका कार्यमा खर्च भएको छ भने केही रकम सरकारी अधिकारीहरुले श्रमिकको रकम दुरुपयोग गरिदिएका छन् । उद्देश्य बमोजिमका कामका साथै उद्देश्य विपरितका काममा गत आर्थिक बर्षमा बोर्डले ३४ करोड २३ लाख ६० हजार रुपैयाँ खर्च गरेर ३ अर्ब ७१ करोड ४० लाख ५९ हजार रुपैयाँ मात्रै बाँकी राखेको छ ।

कति रकम दुरुपयोग गरियो ?
बोर्ड स्रोतले दिएको जानकारी अनुसार कोषमा कार्यरत करारका कर्मचारीको तलबमा २२ लाख रुपैयाँ खर्च गरिएको छ । यस्तै नेपाली राजदूतावास कोरियाको गाडी खरिदमा ३७ लाख रुपैयाँ कामदारको पैसा दुरुपयोग भएको छ ।

बोर्डका हाकिमहरुको बिदेश भ्रमणमा पनि कामदारकै पैसा खर्च गरिएको छ । यस्तो भ्रमणमा कोषको १ लाख रुपैयाँ र तत्कालिन श्रमराज्यमन्त्रीको विदेशमा होटल खर्चबापत ५ लाख रुपैयाँ खर्च गरिएको छ ।

किन बनाइएको थियो कोष ?
बैदेशिक रोजगार ऐन २०६४ ले कोषको ब्यवस्था गरेको छ । ऐनको ब्यवस्था अनुसार बनेको नियमावलीले बिदेश जाने कामदारसँग प्रतिकामदार १ हजार रुपैयाँको दरले रकम उठाउने ब्यवस्था गरेको थियो ।

ऐनको दफा २९. वैदेशिक रोजगार कल्याणकारी कोषको प्रयोग तथा सञ्चालन:-
(१) वैदेशिक रोजगार कल्याणकारी कोषको प्रयोग देहायको प्रयोजनका लागि गरिनेछ:-

(क) वैदेशिक रोजगारमा जाने कामदारलाई शीपमूलक तालिम प्रदान गर्न,

(ख) कामदारको अङ्गभङ्ग भई वा दफा ६४ को उपदफा (१) को कारणबाट कामदारलाई स्वदेश फिर्ता गराउन, क्षतिपूर्ति दिन र त्यसरी फिर्ता आएका कामदार वा निजको परिवारलाई आर्थिक सहयोग प्रदान गर्न,

(ग) वैदेशिक रोजगारबाट फर्केका कामदारको लागि रोजगारमूलक कार्यक्रम सञ्चालन गर्न,

(घ) वैदेशिक रोजगारका लागि विदेश गएको अवस्थामा कामदारको मृत्यु भै शव अलपत्र परी नेपाल ल्याउन र निजको परिवारलाई आर्थिक सहयोग प्रदान गर्न,

(ङ) वैदेशिक रोजगार प्रवद्र्धन सम्बन्धी कार्य गर्न,

(च) तोकिए बमोजिमको अन्य कार्य गर्न ।


क्लिकमान्डु