काठमाडौं महानगरमा ७८ प्रतिशतले तिर्दैनन् बहाल कर



काठमाडौं । काठमाडौं महानगरपालिकाका २२ प्रतिशत घरधनीले मात्र घरबहाल कर तिर्ने गरेका छन् ।

कामपा, राजस्व महाशाखा प्रमुख ध्रुव काफ्लेका अनुसार घरबहाल घर लिनका लागि ठोस किसिमको कानुन नहुँदा कामपामा रहेका ७८ प्रतिशतले घर बहाल घर तिर्ने गरेका छैनन् ।
हालसम्मको अवस्था हेर्ने हो भने भाडामा बस्ने र घरपतिबीच सामान्य मौखिक समझदारी भएर भाडा लिने, दिने र बढाइने गरिएको छ । “कुनै कानुनी आधारमा रहेर यस किसिमको काम हुने गरेको छैन”, प्रमुख काफ्लेले भने ।

पछिल्लो समय कामपामा घर भएका व्यक्ति विदेश जानका लागि घर बहाल कर, बत्ती, पानी र अन्य महानगरबाट लिइने सुविधाको पनि कर चुक्ता गर्नुपर्ने भएकाले घर बहाल कर सङ्कलनमा केही वृद्धि भएको प्रमुख काफ्लेको ठम्याइ छ ।

घरधनीले भाडामा लिएर उठेको रकमको दुई प्रतिशत कामपामा राजस्व बुझाउनुपर्छ । अहिले वार्षिक १२ करोड रुपैयाँसम्म यस शीर्षकमा कर उठ्ने गरेको छ ।

नियमको अभाव र जनशक्तिको कमीजस्ता कारण देखाउने कामपाले कर सङ्कलन लागि यति ठूलो सम्भावना बोकेको शीर्षकमा पनि अपेक्षानुरुप कर सङ्कलन गर्न सकेको छैन । पूर्ण रुपमा घर बहाल करसम्बन्धी ऐन नहुँदा कर नबुझाउनेलाई कारबाही गर्ने अधिकार कामपालाई छैन ।


क्लिकमान्डु