राष्ट्रिय सडक सञ्जालमा जोडियो डोल्पाको त्रिपुरा सुन्दरी नगरपालिका



डोल्पा । डोल्पाको त्रिपुरा सुन्दरी नगरपालिका राष्ट्रिय सडक सञ्जालमा जोडिएको छ । जाजरकोट डोल्पा सडकखण्डको ११७ दशमलव ७ किमी सडकमध्ये १०९ किमी त्रिवेणी–करोपगाड सडक खण्ड निर्माण भएपछि  त्रिपुरा सुन्दरी नगरपालिका राष्ट्रिय सडक सञ्जालमा जोडिएको हो ।

करोपगाड–खदाङखण्डको काम पनि अन्तिम चरणमा पुगेको सेनाले जनाएको छ । उक्त सडक अन्तर्गत अहिले कुच्चीभिरको निर्माण  भइरहेको छ । आउँदो दसैँभित्रै त्रिपुरा सुन्दरी नगरपालिकाको खदाङमा सडक पुर्याउने  र वर्षौंदेखि खच्चडबाट ल्याइएको खाद्यवस्तु प्रयोग गर्दै आएका डोल्पालीलाई दशैंमा ट्याक्टरबाट ल्याइएको चामल खुवाउने सेनाको लक्ष्य छ ।

अब डोल्पा सदरमुकाम दुनैसम्म राष्ट्रिय सडकपुग्न आठ दशमलव पाँच किलोमिटिर मात्र बाँकी छ । बाँकी सडक भिर पहारायुक्त भए पनि अडिक आत्मविश्वासका साथ सेनाले युद्धस्तरमा काम अगाडि बढाएको सडक निर्माणका कार्यदल प्रमुख कर्नेल विश्वबन्धु पहाडीले जानकारी दिए।

अबको एक वर्षभित्र डोल्पालीको मोटर चढ्ने वर्षौंदेखिको सपना साकार गर्न लागिपरेको पहाडीको भनाइ छ । तल्लो डोल्पालीले यातायात पुग्दाको स्वाद ७३ साउनमा सडक उद्घाटन भए देखिनै पाइरहेका थिए ।

गाउँमै दसैँभित्र सडक पुग्ने भएपछि त्रिपुरा सुन्दरी नगरपालिका–५ का मोती उपाध्याय दङ्ग छन् । “वर्षौंदेखिको मोटर चढ्ने सपनाको नजिक पुगेका छौँ हामी डोल्पाली, घरमै कुहिँदै आएका हाम्रा स्थानीय स्याउ, ओखर, सिमीलगायतका उत्पादनले बजार पाउने भएका छन्” उनले भन्नुभयो,  “सेनाले अरोरात्र खटाइले डोल्पामा मोटरबाटो पुग्ने भएको हो” । नेपाली सेनाले डोल्पालीको मन जितेकाले डोल्पाका अन्य आन्तिरिक सडक निर्माणको जिम्मा पनि सेनालाई दिनुपर्ने उनको धारणा छ ।

हाल सेनाले सर्वाधिक कडा चट्टान र ठूलठूला भिरपखेरा रहेको खदाङ–त्रिपुराकोट  सडकखण्डमा निर्माण कार्यलाई तीव्रता दिएको छ भने उक्त सडक निर्माणका लागि छ वटा निर्माण वेस खडा गरेर निर्माण कार्य अगाडि बढाइरहेको छ ।

भेरी करिडोर नाम दिइएको उक्त सडकखण्डले चीनको स्वशासित क्षेत्र तिब्बत–मोरिम्ला भञ्ज्याङ–धो–दुनै–खदाङ–जाजरकोट–छिन्चु–नेपालगन्ज हुँदै भारतको रुपैडिहा नाका जोड्ने भएकाले पनि यस सडकखण्डलाई व्यापारिक हिसावमा समेत महत्वपूर्ण सडकको रुपमा हेरिएको छ ।

भारत र चीन दुई छिमेकी मुलुकबाट प्रसस्त अवसर लिन सकिने सम्भावना भएकाले राज्यले उक्त सडकलाई रणनीतिक महत्वको रूपमा लिएको छ ।


क्लिकमान्डु