उपत्यकाको १ लाख ३० हजार रोपनी जग्गामा नयाँ भौतिक संरचना बनाउन रोकियो



काठमाडौं । अब काठमाडौं उपत्यकाका १ लाख ३० हजार रोपनी जग्गामा नयाँ भौतिक संरचना (सरकारी तथा निजी) निर्माण गर्न नपाइने भएको छ । काठमाडौं उपत्यका विकास विकास प्राधिकरणले स्याटलाईट सिटी बनाउनका लागि भौतिक संरचना तथा कित्ताकाटमा रोक लगाउन लागेको हो ।

उपत्यकाको ४ स्थानको १ लाख ३० हजार रोपनी जग्गामा स्याटलाईट सहर बनाउनका लागि भौतिक संरचना तथा कित्ताकाट रोक्का गर्न लागिएको काठमाडौं उपत्यका विकास विकास प्राधिकरणका शाखा प्रमुख केशवप्रसाद न्यौपानेले जानकारी दिए ।

स्याटलाईट सहर बन्ने स्थानको भौतिक संरचना तथा कित्ताकाट रोक्काको आधिकारीक सुचना दिनका लागि राजपत्रमा सुचना प्रकाशित गर्न लागिएको न्यौपानेले जानकारी दिए ।

‘राजपत्रमा सुचना प्रकाशका लागि अवश्यक सबै प्रकृया पूरा भईसकेको छ, भोलि या पर्सि राजपत्रमा सुचना प्रकाशित हुन्छ,’ न्यौपानेले क्लिकमाण्डूसँग भने ।

प्राधिकरणले उपत्यकाका बढ्दै गएको अव्यवस्थित सहरीकरणलाई न्युनिकरण तथा व्यवस्थित सहर निर्माणका लागि भन्दै स्याटलाईट सहरको अवधारणा अघि सारेको हो ।

स्याटलाईट सहर ल्याडपुलिङको अवधारणामा निर्माण गरिने भएकाले नयाँ भौत्तिक संरचना निर्माणमा तथा जग्गाको खरिद बिक्रीमा रोक लगाउनु परेको प्रमुख न्यौपाने बताउँछन् ।

विस्तृत साम्भाव्यता अध्यान प्रतिवेदन (डिपिआर) अघि नै भौतिक संरचना र जग्गा खरिद बिक्रीमा रोक गर्न सकिए निर्माण प्रकृया सहज हुने प्राधिकरणको ठम्याई छ ।

नयाँ भौतिक संरचना बनाउन नपाइने स्थान
(क) काठमाडौं ईसान (पूर्व–उत्तर) नयाँ सहर विस्तार क्षेत्र
पूर्वः भक्तपुरको नगरकोट जाने सडक, तेलकोट भन्ज्याङसम्म ।
पश्चिमः जोरपाटी क्रिकेट स्टेडियम, मुलपानी, गोठाटर हँदै मनोहरा पुल भक्तपुर जाने पुरानो बाटो ।
उत्तरः साँखु बजार र साँखु जाने मुल सडक ।
दक्षिणः भक्तपुर पुरानो बाटो (नेपाल सैनिक प्रतिष्ठान– खरिपाटी, देवोमिबा इतापाके जग्गा एकिकरण आयोजना, सिन्टीटार जग्गा एकिकरण आयोजना र दिव्यश्वरी जग्गा एकिकरण आयोजना बाहेकको क्षेत्रहरु मात्र) भित्रको करिब १ लाख रोपनी क्षेत्रफल जग्गामा नयाँ नगरको भौतिक विकास योजना तर्जुमा गर्ने ।

(ख) काठमाडौं आग्नेयः (पूर्व–दक्षिण) काठमाडौं उपत्यकाभित्र भक्तपुर जिल्लाको नयाँ सहर विस्तार क्षेत्र ।
निम्न सिमानाभित्रको कटुन्जे, गुण्डु, दधिकोट, शिरुटार, बालकोट भित्रको जग्गाहरु ।
पूर्वः अरनिको राजमार्गको सूर्यविनायक चोकदेखि सुर्यविनायक मन्दिर अगाडी वनलाई बाहिर पार्दै फेदको बाटो ।
पश्चिमः खहरे खोला, बालकोट विरुवा सडक, पानी ट्याकी, बालकोट अमरनगर थिमी हुँदै अरनिको राजमार्ग सिमान ।
उत्तरः अरनिको राजमार्गको सिमाना ।
दक्षिणः भक्तपुर जिल्लाको सिनामंगल, रानीकोट जंगल छेउ, अनन्तलिगेश्वर फेदी, तर्खगाल, पात्लेटार, विरुवा हुँदै खहरेसम्म करिब १० हजार रोपनी क्षेत्रफल ।

(ग) काठमाडौं तैऋत्यः (दक्षिण–पश्चिम) ललितपुर जिल्लाको नयाँ सहर विस्तार क्षेत्र ।
निम्न सिमानाभित्रको साविको खोकना (१, २, ३, ४, ५, ६, ७, ८० र बुङमती ९१ नम्बर वडाको भैंसिपाटी छम्पी जाने मुख्यबाटोबाट बस्ती तर्फ मात्र, र २, ३, ४, ५, ६ को सबै) नगरपालिकाका जग्गाहरु ।
पूर्वः छेयासीकोटदेखि साविक सैवु गाविसको सिमान हुँदै फसिडोल, वाग्मती नदीको झोलगे पुलसम्म ।
पश्चिमः बागमती नदी सिमना ।
उत्तरः साविक सैंबु गाविसको सिमाना ।
दक्षिणः बागमती नदीसम्म करिब १० हजार रोपनी क्षेत्रफल ।

(घ) काठमाडौं उत्तरः काठमाडौ जिल्लाको नयाँ हरित सहर विस्तार क्षेत्र ।
पूर्वः सामाकोसी, टोखा रोड हुँदै बाइपास ।
पश्चिमः काभ्रेस्थली बाइपास जाने मुल सडक ।
उत्तरः सपनातिर्थ मालुङ हुँदै काभ्रेस्थली ।
दक्षिणः ग्रीनल्याण्ड चोकदेखि मनोरथ हुँदै महादेव खोला काभ्रेस्थलीको मुल सडक पुलसम्म करिब १० हजार रोपनी क्षेत्रफल ।


क्लिकमान्डु