कर फछ्र्योट आयोगका महत र ढकाललाई पक्राउ पुर्जी



काठमाडौं । कर फछ्र्योट आयोगका अध्यक्ष लुम्बध्वज (एलडी) महत र सदस्य उमेश ढकाल विरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।

अख्तियारले बयान लिन बोलाएको अवधीमा महत र ढकाल उपस्थित नभएपछि अख्तियारले प्रहरीलाई पक्राउ गर्नको पत्राचार गरेको छ । प्रहरीले महत र ढकाल विरुद्ध पक्राउ पुर्जी जारी गरेको छ ।

कर फछ्र्योट आयोगले अनियमित तरिकाले कर छुट दिएको आरोपमा सदस्य सचिव रहेका आन्तरिक राजस्व विभागका महानिर्देशक चुडामणी शर्मा पक्राउ परिसकेका छन् ।

अख्तियारका प्रवत्ता जिवराज कोइरालाले महत र ढकाललाई बयानको लागि आयोगमा बोलाइएको समयमा उपस्थित नभएको जानकारी दिए ।

‘उहाँहरु दुवैजना (महत र ढकाल)लाई बयानका लागि बोलाइएको समय गत विहीबार सकिएको छ, बोलाइएको समयमा नआएपछि कानुन अनुसारको प्रक्रिया अगाडि बढ्छ,’ उनले भने ।

स्रोतका अनुसार महत अहिले भारतमा रहेका छन् भने ढकालपनि नेपालमा नभएको बुझिएको छ ।

नेपाली कांग्रेसका नेता डा रामशरण महत अर्थमन्त्री हुँदा आयोग गठन गरिएको थियो । आयोगका अध्यक्ष महत कांग्रेस नेता महतसँग नजिक मानिन्छन् ।

ढकाल एमाले निकट हुन् । उनको एमाले अध्यक्ष केपी ओलीसँग निकट सम्बन्ध छ ।


पुष्प दुलाल