कृषि पर्यटनको विकासका लागि रोपाइँ महोत्सव हुने



पोखरा । कृषि पर्यटनको विकास र संस्कृतिको जगेर्ना गर्ने उद्देश्यका साथ पोखरा पर्यटन परिषद्द्वारा विगत १३ वर्षयता सञ्चालन गर्दै आइएको असारे रोपाइँ महोत्सवको १४ औँ संस्करण यस वर्ष पोखराको बाटुलेचौरमा गरिने भएको छ ।

नेपाल पर्यटन बोर्डको प्रवद्र्धनमा ‘पोखरा सबै मौसमका लागि’ भन्ने नाराका साथ असार १५ गते स्थानीय गोविन्दबहादुर खड्काको ठूलीबेँसी फाँटस्थित आठ रोपनी क्षेत्रफलको खेतमा महोत्सव गर्न लागिएको हो ।

पोखरा पर्यटन परिषद्का अध्यक्ष केदारनाथ शर्माका अनुसार कृषि प्रधान देश नेपालमा बढ्दो कृषि पर्यटनको विकास र कृषि संस्कृतिको जगेर्नाका लागि रोपाइँ महोत्सवलाई निरन्तरता दिइँदै आइएको हो ।

‘सहरीकरणको बढ्दो क्रमसँगै कृषिप्रतिको अनिच्छालाई न्यूनीकरण गर्दै कृषि संस्कृतिलाई पर्यटनसँग जोड्नका लागि महोत्सवको आयोजना गरिएको हो,’ उनले भने, ‘जिजुबाजेका पालादेखि नै प्रत्येक वर्षको असार १५ गते खले गरा(सबैभन्दा फराकिलो दाइँ गर्न सकिने खेत)मा रोपाइँ गर्ने हाम्रो प्राचीन संस्कृति पनि हो ।’

पोखरा पर्यटन परिषद्का उपाध्यक्ष भरतराज पराजुलीले मानो रोपेर मुरी उब्जाउने समयका रुपमा असारे रोपाइँलाई लिने गरिएको बताउँदै पछिल्लो पुस्तामा कृषिप्रतिको आकर्षण बढाउने उद्देश्यले पनि पोखरामा रोपाइँ महोत्सव सञ्चालन गर्दै आइएको जानकारी दिए ।

महोत्सवमा स्वदेशी एवम् विदेशी गरी लगभग ३० हजार पर्यटक(विदेशी ५०० जनासहित) सहभागी हुने अनुमान गरिएको उनले जानकारी दिए ।

महोत्सवका संयोजक नवराज अधिकारीले महोत्सवका क्रममा हलगोरुको दौड, विभिन्न आमा समूहबीच असारे गीत तथा रोपाइँ प्रतियोगिता, माछा समात्ने, हिले दौड, रस्सा कस्सी, कृषक सम्मान कार्यक्रम राखिएको जानकारी दिए।

महोत्सवको व्यवस्थापनका लागि १४ लाख ५० हजार रुपैयाँ लाग्ने अनुमान गरिएको छ ।


क्लिकमान्डु