१ करोडभन्दा बढी मोबाइलको आईएमईआई नम्बर दर्ता, यसरी पत्ता लगाउनुस् आईएमईआई नम्बर




काठमाडौं । नेपालमा प्रतिमहिना ४ लाख इन्टरनेसनल मोबाइल इक्विपमेन्ट आइडेन्टिटी (आईएमईआई) नम्बर दर्ता हुने गरेको देखिएको छ । नेपाल भित्रने तथा प्रयोग हुने मोबाइलको आईएमईआई नम्बरहरु प्रतिमहिना औसतमा ४ लाखवटा दर्ता हुने गरेको नेपाल दूरसंचार प्राधिकरणले जानकारी दिएको छ ।

प्राधिकरणका अनुसार यही जेठ महिनासम्म १ करोड १० लाख भन्दा बढि आईएमईआई नम्बरहरु दर्ता भएका छन् । गत वर्ष २०७३ मा मात्रै ९९ लाख ९८ हजार ८२६ वटा आईएमई नम्बर दर्ता भएका थिए । जसमध्ये ९९ लाख ९४ हजार ७६४ वटा आईएमईआई नम्बर आयातकर्ता कम्पनीहरुले दर्ता गरेका थिए भने ४ हजार ६२ वटा आईएमईआई नम्बर व्यक्तिगत रुपमा दर्ता गरिएको थियो ।

यो वर्षको पहिलो दुई महिनामा मात्रै १० लाख भन्दा बढि आईएमईआई नम्बर दर्ता भएको छ । जसमध्ये १० लाख १७ हजार १४७ वटा आईएमईआई नम्बर आयातकर्ता कम्पनीले दर्ता गरेको थियो भने १५२ वटा आईएमईआई नम्बरहरु व्यक्तिगतरुपमा दर्ता गरिएका थिए ।

प्राधिकरणले गत वर्षको वैशाख महिनादेखि नेपालमा आईएमईआई नम्बर दर्ता प्रकृयालाई अनिवार्य गरेको थियो । प्राधिकरणका प्रवक्ता मिनप्रसाद अर्यालले आईएमईआई दर्ता गर्ने क्रम बढिरहेको जानकारी दिए । उनकाअनुसार आईएमईआई दर्ता प्रकृयाले मोबाइलबाट हुने अनधिकृत गतिबिधि नियन्त्रण गर्न सहयोग पुग्दछ ।

‘हामीकहाँ आईएमईआई दर्ता भएको मोबाइल नम्बर हराएमा वा चोरी भएमा त्यसको लागि प्रहरीसँगको सहकार्यमा पत्ता लगाउन सकिने संभावना अधिक हुन्छ,’ उनले भने ।

प्राधिकरणले आगामी दिनमा आईएमईआई दर्ता प्रकृयालाई अझ सरल र सहज बनाउने तयारी पनि गरेको छ ।

आयातकर्ताहरुले यस्तो आईएमईआई नम्बर फोन आयात गर्नुभन्दा अगाडि नै प्राधिकरणमा दर्ता गरेर मात्र फोन आयात गर्न पाउने व्यवस्था गरिएको छ भने यसको साथमा टाइप अप्रुभलको कागतपत्र पनि आवश्यक पर्दछ । तर, व्यक्तिगतरुपमा भने प्रयोगकर्ताले आफैले बाहिरी मुलुकबाट किनेर वा उपहारमा आएको मोबाइल फोनको आईएमईआई नम्बर दर्ता गर्नुपर्ने हुन्छ ।

प्राधिकरणमा आईएमईआई नम्बर दर्ता नगरी प्रयोग गरिएका मोबाइल फोन सेटहरु अवैध मानिन्छन र त्यस्ता सेट प्रयोगकर्ताहरुलाई कारबाहीसमेत हुन सक्दछ ।

के हो आईएमईआई नम्बर ?
हरेक मोबाइललाई एउटा विशेष नम्बर प्रदान गरिएको हुन्छ जसलाई आईएमईआई नम्बर भनिन्छ । आईएमईआई नम्बरको आधारमा नै कुनैपनि मोबाइलको पहिचान गरिन्छ । प्रत्येक मोबाइल नम्बरमा आवश्यकताअनुसार एउटादेखि ३ वटासम्म आईएमईआई नम्बर राखिएको हुन्छ । विशेषगरी मोबाइलमा कतिवटा सिम प्रयोग हुन्छ भन्ने आधारमा मोबाइलको आईएमईआई नम्बर राखिएको हुन्छ ।

कसरी थाहा पाउने मोबाइलमा आईएमईआई नम्बर ?
हरेक मोबाइलमा फरक फरक आईएमईआई नम्बर हुने गर्दछ । यस्तो नम्बर १५ वा १७ अंकको लामोन हुन्छ । यो नम्बर धेरैजसो मोबाइलको ब्याट्री राख्ने स्थानको भित्र वा सिमकार्ड राख्ने स्थानको छेउमा लेखिएको हुन्छ । आजकल त यस्तो आईएमईआई नम्बर मोबाइलको बाहिरी बक्समा पनि स्पष्टसँग लेखिएको हुन्छ । तपाईँलाई पनि आफ्नो मोबाइलको आईएमईआई नम्बर थाहा पाउन मन लाग्यो भने तपाईँले आफ्नो मोबाइलमा स्टार ह्यास ०६ ह्यास डायल गरेर मज्जाले थाहा पाउन सक्नुहुनेछ ।


क्लिकमान्डु