पूर्वाधारमा एक खर्ब रुपैयाँ पुगेनः दिपेन्द्रनाथ शर्मा




काठमाडौं । सहरी विकास मन्त्रालयका सचिव दिपेन्द्रनाथ शर्माले पूर्वाधारमा विकासमा एक खर्ब रुपैयाँको बजेट अपूग भएको बताएका छन् ।

सचिव शर्माले काठमाडौं उपत्यका विकास प्राधिकरणको आयोजना नवनिर्वाचित जनप्रतिनिधिसँगको अन्तरक्रियामा पूर्वाधार विकासमा एक खर्बको बजेट अपूग भएको बताएका हुन् ।

‘पूर्वाधार विकासका लागि १ खर्ब ३५ अर्ब रुपैयाँ बजेट आवश्यक देखिन्छ, तर, ३५ अर्ब रुपैयाँ मात्र लगानी हुन सकेको छ,’ सचिब शर्माले भने ।

नेपालको बजेटको धरै जस्तो हिस्सा जनशक्ति व्यवस्थापन र चालु खर्चमा जाने भएकाले पूर्वाधार विकासमा कम बजेट विनियोजन हुने गरेको उनको भनाई छ ।

‘विकासका लागि सबैभन्दा महत्वपूर्ण भनेको पुँजीगत खर्च हो, तर, पुँजीगतमा कूल बजेटको करिब ४० प्रतिशत बजेट मात्र हुने गरेको छ,’ उनले भने ।

विकसित मुलुकको तुलनामा नगर क्षेत्रमा बसोबास गर्ने नेपाली जनताको संख्या अधिक रहेको उनले बताए ।

‘राजनीतिक तथा प्रशासनिक पूर्वाधारबिना नगर क्षेत्र स्थापन गरिएकाले हाल ६२ प्रतिशत जनता नगरबासी भएका छन्, यो संख्या भारत र चीनको नगर क्षेत्रमा बसोबास गर्नेको भन्दा अधिक हो,’ सचिव शर्माले भने ।

काठमाडौं उपत्यकाका नवनिर्वाचित जनप्रतिनिधिहरुले सरकारले एउटा निश्चित मापदण्ड निर्माण गरिदिएमा पूर्वाधार विकास सम्बन्धित कार्य गर्न सहज हुने बताएका छन् ।


क्लिकमान्डु