स्वास्थ्य बीमा कार्यक्रम सुरु



भक्तपुर।  सामाजिक स्वास्थ्य सुरक्षाअन्तर्गतको स्वास्थ्य बीमा कार्यक्रम यहाँ पनि सुरू भएको छ ।

बीमा कार्यक्रममा पाँच जनाको परिवारले वार्षिक दुई हजार ५०० रुपैयाँ बीमा शुल्क भुक्तानी गरेपछि ५० हजार रुपैयाँसम्मको उपचार सेवा पाउने गरी कार्यक्रम सुरु भएको सामाजिक स्वास्थ्य सुरक्षा विकास समितिका कार्यकारी निर्देशक डा गुणराज लोहनीले जानकारी दिए ।

पाँचभन्दा बढी सदस्य भएमा प्रतिव्यक्ति ४२५ रुपैयाँ थप भुक्तानी गरेपछि प्रतिव्यक्तिको १० हजार रुपैयाँ उपचार सेवा थपिने व्यवस्था गरिएको छ ।  पाँच जनासम्मका लागि ५० हजार रुपैयाँ अनिवार्य तथा कार्यक्रमको अधिकतम सीमा एक लाख रुपैयाँ निर्धारण गरिएको छ ।  सरकारले निःशुल्क तोकेका औषधोपचार सेवा भने यसमा समावेश नहुने उनले जानकारी दिए । स्वास्थ्य बीमा गर्नेले हाललाई भक्तपुरका छ स्वास्थ्य संस्थाबाट सेवा पाउने व्यवस्था गरिएको छ ।

बीमा गर्नेले भक्तपुर अस्पताल, भक्तपुर नगरपालिकाद्वारा सञ्चालित जनस्वास्थ्य सेवा केन्द्र, मध्यपुरथिमि नगरपालिकाको व्यवस्थापनमा सञ्चालित नेपाल कोरिया मैत्री अस्पताल, चाँगुनारायण प्राथमिक स्वास्थ्य केन्द्र र सूर्यविनायक नगरपालिकास्थित दधिकोट प्राथमिक स्वास्थ्य केन्द्रबाट स्वास्थ्य बीमा गरेकाहरुले उपचार सेवा पाउनेछन् ।

आव २०७२।०७३ मा कैलाली, बागलुङ र  इलामबाट सुरू भएको स्वास्थ्य बीमा कार्यक्रम अब भक्तपुरसँगै चितवन, जुम्ला र तनहुँमा सञ्चालनमा आएको छ । यही असारदेखि जाजरकोट, मकवानपुर र गोरखामा पनि कार्यक्रम सुरू गर्ने तयारी गरिएको छ । रासस


क्लिकमान्डु