इन्भेष्टमेन्ट र ग्लोबल आइएमई बैंकको सेयर मूल्य किन कम छ ? (विश्लेषण)



काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंक र ग्लोबल आइएमई बैंक नेपालका ठूला र राम्रा बैंक मानिन्छन् । बिभिन्न आधारभूत सूचकहरुको आधारमा बिश्लेषण गर्दा नेपाल इन्भेष्टमेन्ट बैंकलाई नेपालकै पहिलो वा दोस्रो नम्बरको बैंकमा राख्न सकिन्छ भने ग्लोबल आइएमई पनि पाँचौं वा छैटौंसम्म त सहजै अटाउँछ ।

तर, नेप्सेको सेयर कारोबारमा यी दुई बैंकको मुल्य भने खासै धेरै छैन । अर्थात, आधारभूत बिश्लेषणका आधारले र अन्य बैंकसँगको तुलनाको हिसाबले हुनुपर्ने जति नभएको हो कि जस्तो लाग्छ ।

यी दुई बैंकहरु भन्दा नयाँ, सानो ब्यवसायीक सञ्जाल भएका, वित्तीय सूचकहरु पनि खासै आकर्षक नभएका, निक्षेप संकलन र कर्जा प्रवाहमा कमजोर, खराब कर्जा धेरै भएका र कोषको लागत समेत धेरै भएका बैंकहरुको सेयर मुल्य समेत यी दुई बैंककोभन्दा धेरै देख्दा सामान्य लगानीकर्ताहरु अचम्ममा पर्नु स्वभाविक नै हो ।

 ग्लोबल आइएमइको पछिल्लो कारोबार मुल्य प्रतिसेयर ३ सय ८० रुपैंयाँ छ भने नेपाल इन्भेष्टमेन्टको ७ सय ३६ रुपैंयाँ छ ।
कुनै पनि कम्पनीको सेयरबजारको मुल्यले आधारभूत सूचकहरुमाथि न्याय नगर्नु सेयर पण्डितहरुका लागि सामान्य बिषय भएपनि साधारण लगानीकर्ता भने अलमलमा पर्ने गर्छन् ।

कस्तो सेयर छिटो बढ्छन् वा घट्छन् ?

तर, वास्तवमा कुरा के हो भने कुनैपनि कम्पनीको सेयर मुल्य कम्पनी जति ‘हल्का’ (पुँजीको हिसाबले) भयो उती माथि उठ्ने संभावना बढि हुन्छ, बेलुन जस्तै । बेलुन हल्का भएका कारण स-सानो हावाको झोंकाले पनि उडाएर माथि लैजान्छ भने ढुङ्गा ज्यादै गह्रौं भएका कारण सानोतिनो हावाले उडाउन त के हल्लाउन पनि सक्दैन ।

चुक्ता पुँजी थोरै हुनुको अर्थ बजारमा सेयर संख्या कम हुनु पनि हो । अर्थात्, तुलनात्मक रुपमा कम मानिसहरुसँग कम्पनीको सेयर हुनु हो । कम आपूर्ति भएपछि माग ज्यादा देखिने र मुल्य बढ्ने अर्थशास्त्रको आधारभुत नियम नै भैहाल्यो ।

२ बर्षअघि कति थियो यी दुई बैंकको चुक्ता पुँजी ?

नेपाल राष्ट्र बैंकले ०७२ साल साउन ७ गते मौद्रिक नीतिमार्फत् बाणिज्य बैंकहरुको चुक्ता पुँजी न्युनतम ८ अर्ब रुपैंयाँ पुर्याउनु पर्ने घोषणा गर्दा दुई सरकारी बैंक, नेपाल बैंक र राष्ट्रिय बाणिज्य बैंकलाई छाड्ने हो भने निजी क्षेत्रका बैंकहरु मध्ये सबैभन्दा बढि पुँजी ग्लोबल आइएमइ बैंकको थियो ।

ग्लोबलको त्यतीबेला नै ५ अर्ब १ करोड रुपैंयाँ चुक्ता पुँजी थियो । दोस्रोमा, नेपाल इन्भेष्टमेन्टको ४ अर्ब ७७ करोड रुपैंयाँ थियो ।
निजी क्षेत्रका अन्य ठूला बैंकहरु नबिल, एभरेष्ट र स्ट्यान्डर्ड चार्टडको क्रमशः ३ अर्ब ६५ करोड, २ अर्ब १३ करोड र २ अर्ब २४ करोड रुपैंयाँ चुक्ता पुँजी थियो ।

अरु मध्यम स्तरका र नयाँ बैंकहरु सानिमा, सेन्चुरी, सिभिल, माछापुच्छ्रे, एनएमबि, एनआइसी एसिया, सनराइजलगायत बैंकहरुको चुक्ता पुँजी ३ अर्ब रुपैंयाँभन्दा तल नै थियो ।

बढी पुँजी हुँदा सेयर मुल्यमा कस्तो असर पर्यो ?

ग्लोबल र इन्भेष्टमेन्टको चुक्ता पुँजी बढी भएका कारण बजारमा पनि सेयर आपूर्ति धेरै भयो । यस्तो अवस्थालाई बित्तीय भाषामा सेयरको ‘ओभर सब्सकृप्सन’ भनिन्छ । सेयरको ओभर सब्सकृप्सन भएको कम्पनीको सयर मुल्य सामान्यतः स्थिर रहन्छ ।

पुँजी थोरै भएका अन्य बैंकहरु भने सेयर ‘अन्डर सब्सकृप्सन’को अवस्थामा थिए, जसका कारण बजारको उतारचढावमा उनीहरुको सेयर तीब्र गतिमा बढ्ने वा घट्ने भैरह्यो ।

यी दुई बैंकको सेयर मुल्य अन्य बैंकको तुलनामा कम हुनुको अर्को कारण भनेको हकप्रद सेयर नदिनु पनि हो । नेपालका आम लगानीकर्ता नगद लाभांशको साटो बोनस सेयर वा हकप्रद बढि रुचाउने गर्छन् । अन्य बैंकहरुले ८ अर्ब पुँजी पुर्याउनु पर्ने भएका कारण हकप्रदको बाढी नै ल्याए भने जगेडा कोषमा रहेको रकम समेत प्रयोग गरेर ठूलो परिमाणमा बोनस सेयर बाँडे ।

यी दुई बैंकलाई त्यसरी पुँजी बढाउनुपर्ने बाध्यता नभएका कारण स्वभावीक र स्थिर लाभांश मात्र बाँडे, जुन उनीहरुले आगामी बर्षहरुमा पनि कायम राख्न सक्छन् ।

नेपालमा मात्र नभएर धेरै पुँजी भएका ठूला कम्पनीहरुको सेयर मुल्य अन्यत्र पनि स्थिर रहने गर्छ । उदाहरणको लागि भारतीय अर्बपति मुकेश अम्बानी अध्यक्ष रहेको भारतको निजी क्षेत्रको सबैभन्दा ठूलो कम्पनी रिलायन्स इन्डस्ट्रिजलाइ लिउँ ।

‘स्लिपिङ जाएन्ट’ (सुतेको बाघ) भनेर समेत चिनिने रिलायन्सको सेयर बिगत ७ बर्षदेखि स्थिर थियो । सन् २००८ मा प्रतिकित्ता २ हजार ९ सय हाराहारीको सेयर सन् २००९ को आर्थिक मन्दीमा १२ सय ४० मा झरेपछि सन् २०१६ सम्म १ हजारको हाराहारीमा रह्यो ।

के ठूला कम्पनीको सेयर मुल्य कहिल्यै बढ्दैन त ?

बढ्छ । तर, समय भने ठ्याक्कै यकिन गर्न गाह्रो हुन्छ । लामो समय स्थिर रहेको रिलायन्सले पनि पछिल्लो केही समयदेखि गति लिन थालेको छ । अहिले रिलायन्सको मुल्य १४ सय प्रत्तिकित्ता हाराहारीमा पुगेको छ ।

यसको पछाडि आम लगानीकर्ताको मनोबिज्ञानले पनि काम गर्ने बिश्लेषकहरु बताउँछन् । ठूलो कम्पनीको सेयर ओभर सब्सकृप्सन भएर लामो समय स्थिर बसेपछि लगानीकर्ताहरु बिस्तारै त्यो सेयरसँग उक्ताउन थाल्छन्, केही समय कम्पनीको राम्रो आधारभुत सूचकहरु हेरेर ‘होल्ड’ गरे पनि ।

त्यसपछि त्यो कम्पनीको सेयर बेचेर छिटो छिटो बढ्ने सेयर उनीहरुको रोजाइमा पर्नथाल्छ । जब उनीहरु बिस्तारै सयर बेच्न थाल्छन् । र, ती सेयर संस्थाहरु र ठूला लगानीकर्ताको हातमा थुप्रन थाल्छ, तब त्यो कम्पनी ‘हलुका’ हुन थाल्छन् । अर्थात्, अन्डर सब्सकृप्सन हुन थाल्छ, जसले सेयर बजार बढ्दा उस्तै गतिमा वा त्यो भन्दा पनि छिटो गतिमा बढ्न थाल्छ ।

‘रिलायन्सको अहिलेको बृद्धि त्यस्तै हो,’ भारतीय मनोबैज्ञानिक एवं सेयर बिश्लेषक सुनिल मेघलानी बताउँछन् ।

कहिले बढ्ला ग्लोबल र इन्भेष्टमेन्टको सेयर मुल्य ?

यस हिसाबले हेर्दा ग्लोबल आइएमई र नेपाल इन्भेष्टमेन्ट जस्ता बैंकको सेयर मुल्यले पनि कुनै न कुनै समयमा गति लिने आंकलन गर्न सकिन्छ । तर, ज्योतिषले झैं ठ्याक्कै समय भन्न सकिने कुरा भने होइन ।

ग्लोबल र नेपाल एन्भेष्टमेन्टको बारेमा अर्को ध्यान दिनुपर्ने बिषय के पनि हो भने गत बर्षहरुमा यी बैंकहरुले दिंदै आएको लाभांश आगामी बर्षहरुमा पनि कायम राख्न सक्ने देखिन्छ ।

तर, अहिले हकप्रद र ठूलो बोनस सेयर बाँडेका बैंकहरुको प्रति सेयर आम्दानी घट्दै गएको हुनाले आगामी बर्षदेखि उनीहरुले दिने लाभांश संकुचित हुँदै जानेछन् ।

पुँजीको कुरा गर्दा पनि आगामी बर्षदेखि सबै बैंकहरुको पुँजी ८ अर्ब रुपैयाँको हाराहारी नै हुन्छ । यसको मतलब बजारमा सेयरको प्रवाह पनि उस्तै-उस्तै हुन्छ ।

सेयरको प्रवाह पहिले जस्तो अन्य बैंकको भन्दा धेरै नहुने र लाभांश पनि अन्य बैंकलेभन्दा धेरै दिनसक्ने भएका कारण पनि ग्लोबल र इन्भेष्टमेन्टको सेयर मुल्यले अहिलेको तुलनामा राम्रो गति लिनसक्ने संभावना छ ।


पुष्प दुलाल